काठमाडौं,११ कात्तिक । आगामी १३ र १४ गते भारी वर्षा र हिमपातको जोखिम रहेको भन्दै बिभिन्न क्षेत्रले चिन्ता र चासो ब्यक्त गरेका छन् । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात अरनब को प्रभावले आगामी १३ र १४ गते देशका अधिकांश भूभागमा भारी वर्षा, चट्याङ, हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । त्यसबाट उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजरगर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सबैमा विशेष आग्रह गरेको छ । प्राधिकरणद्वारा जारी सूचनाअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुनसक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ । चक्रवातको यस प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको अत्यधिक जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ। सम्भावित विपद्बाट सुरक्षित रहन उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रा नगर्न र अत्यावश्यक कामबाहेक अन्य यात्रासमेत नगर्न अनुरोध गरिएको छ । त्यसैगरी नदी तथा खोला किनार र बाढीको जोखिम भएका क्षेत्रहरुमा नबस्न र मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनाहरुको नियमित जानकारी लिई जोखिमको महसुस हुनासाथ तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

कुनै पनि आपत्कालीन अवस्था वा सहयोगका लागि मौसमसम्बन्धी जानकारी लिन ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्कगर्न सकिने भनिएको छ । भारतको आन्ध्र प्रदेशमा आज बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहारगर्ने पूर्वानुमानपछि अधिकारीहरुले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नथालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमापुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्नसक्ने जनाएको छ । विभागले जारीगरेको बुलेटिनमा अर्नबलाई अति गम्भीर चक्रवाती आँधीका रुपमा तटमा प्रवेशगर्ने अनुमान गरेको छ ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार आन्ध्र प्रदेशका अधिकारीहरुले तल्लो तथा बढी जोखिम भएका क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । केही जिल्लामा आगामी शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गरिएको छ । राज्यका मुख्यमन्त्री नारा चन्द्रबाबु नायडूले आँधीको निरन्तर निगरानीगर्न र पूर्वसावधानी अपनाउन निर्देशन दिनुभएको उहाँको कार्यालयले जारीगरेको विज्ञप्तिमा उल्लेख छ । द इन्डियन एक्सप्रेसका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रमा बसोबासगर्ने चार हजार ७०० भन्दा बढी गर्भवती महिलालाई अस्पतालमा सारिएको छ ।

भारतको मौसम विभागले चक्रवातका कारण कमजोर घरहरु पूर्णरुपमा भत्किन सक्ने, स्थानीय क्षेत्रमा बाढी आउनसक्ने तथा बिजुली र सञ्चारका खम्बा ढल्नसक्ने चेतावनी दिएको छ । आँधीले खेतमा लगाइएका बालीमा पनि व्यापक क्षति पु¥याउनसक्ने विभागको अनुमान छ । त्यसैगरी नेपालमा पनि बिभिन्न जिल्लाले आआफ्नो तयारी गरेका छन् ।