
काठमाडौं, १२ पुस । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशका राजनीतिक दलहरुले आफ्नो स्वार्थ त्यागेर देश र जनताको लागि काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल क्रान्तिकारी युवा संघ चाँगुनारायण नगर समितिले हिजो नगरकोटमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा उहाँले पार्टी कार्यकर्ताहरुले मनबाटै सेवागर्ने वाचागरी अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । उहाँले देखावटी, बनावटी र प्रचारमुखी राजनीतिभित्र स्वार्थ लुक्ने टिप्पणीगर्दै देशका आम युवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयमा गहन जानकारीराख्दै देशका लागि जुट्नुपर्ने आवश्यकता बताउनुभएको थियो ।
नेमकिपा अध्यक्ष बिजुक्छेँले नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका मुख्यधारका दलहरुले देश र जनताको हितलाई उच्च प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने बताउँदै नयाँ पुस्तालाई प्रयोग गरेर देश विरुद्ध लाग्ने तत्व सक्रिय हुन सक्नेतर्फ सबै चनाखो हुनुपर्ने बताउनुभएको थियो । उहाँले देशका बिभिन्न स्थानमा सक्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरुले साम्राज्यवादलाई बलियो बनाउने कार्य गरिरहेको आरोप लगाउँदै यस्ता संस्था निषेध गर्नुपर्ने बताउनुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सचिव सुवालले नेपाली राजनीतिक इतिहासबारे जानकारी गराउँदै विदेशी हस्तक्षेप विरुद्ध स्पष्ट दृष्टिकोण बनाएर देश र जनताको हित सुरक्षितगर्न सबै दल लाग्नुपर्ने बताउनुभएको थियो । रासस