
काठमाडौं । नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा आगामी सोमबार (मंसिर ७ गते) पुनः सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई बहसमा उपस्थित हुन निर्देश गरेको छ ।
त्यस दिन रिट निवेदक कार्कीका कानून व्यवसायी, सरकारी निर्णयको बचाउगर्ने सरकारी वकिल तथा नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीकोतर्फबाट बहसगर्ने कानून व्यवसायीहरुले आफ्नो बहस प्रस्तुत गर्ने बताइएको छ ।
सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइगर्दै अदालतले दुवै पक्षलाई छलफलमा आमन्त्रित गरेरमात्र अन्तरिम आदेशका सन्दर्भमा आवश्यक निर्णय लिने ठहर गरेको छ। मन्त्रिपरिषदको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर डा. मनोज केसीलाई नयाँ महानिरीक्षकमा नियुक्तगर्ने निर्णय गरेको थियो ।