
काठमाडौं,८ मंसिर । पूर्ब माओवादी नेता तथा नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहालले आफूले शहीद तथा बेपत्ता परिवारका लागी सधै न्याय गरिरहेको दाबि गर्नुभएको छ । नुवाकोटको लिखु–५ मा निर्माण गरिएको शहीद स्मृति केन्द्र भवन र शहीद स्मृति पार्कको उद्घाटनगर्दै दाहालले मुलुकको परिवर्तनका लागि शहीदले पु¥याएको योगदानको उच्च प्रशंसासहित आफूले गर्नसक्ने सम्मान प्रदान गरेको बताउनुभएको थियो । जनयुद्धको सफलता, संघीय गणतन्त्र, संविधानसभामार्फत नयाँ संविधान जारी, राज्य पुनःसंरचनाको निर्माणलगायत शहीद, बेपत्ता र घाइते योद्धाको बलिदानको उपलब्धि भएकाले त्यसलाई संस्थागतगर्न सक्ने जति राहत उपलब्ध गराएको उहाँको दाबि थियो । उहाँले आफू पहिलो पटक प्रधानमन्त्री हुँदाको पहिलो निर्णयनै जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणागर्ने थियो । तर, कार्यान्वयनमा ल्याउन सकिएको थिएन भन्नुभयो । नेता दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन तथा कानून बनाउने विधेयकलाई अन्तिम निर्णयमा पु¥याउन सफल भएकाले अबको प्रयास त्यसमा गरिएको परिपूरण कार्यान्वयन गराउन केन्द्रित हुने दाबि पनि गर्नुभएको थियो ।
परिपूरणमा शहीद र बेपत्ता परिवारलाई परिचयपत्र प्रदानगर्ने, सार्वजनिक सेवा प्रवाहमा छुट सुविधा उपलब्ध गराउने, परिवारका एकजनालाई रोजगारीको प्रबन्ध मिलाउनेसहित न्यूनतम १० लाख प्रदानगर्ने उल्लेख छ । सोही कार्यान्वयनको लागि आफूले प्रयास जारी राखेकाले शहीद र बेपत्ता परिवारलाई न्याय दिन जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुने बताउनु भएको थियो । परिपूरणको कार्यान्वयन शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने व्यवस्थाअन्तर्गत महत्वपूर्ण कदम हुने भएकाले त्यसका लागि अन्तरराष्ट्रिय नियोगको समर्थन र दातृ निकायबाट आर्थिक सहयोग जुटाइ कार्यान्वयन गराइने उहाँको भनाइ थियो । लिखु–५ मा निर्माण गरिएको शहीद स्मृति केन्द्र भवन र शहीद स्मृति पार्कको हिजो एकसाथ उद्घाटन गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत प्राप्त ९० लाख लगानीमा निर्माण गरिएको भवनलाई कार्यालय बनाइएको छभने स्मृति पार्कमा जनयुद्धको समयमा लिखु गाउँपालिकाबाट दिवङ्गत भएका ११ जना शहीद र बेपत्ता एक जनासहित १२ जनाको शालिकको उहाँले अनावरण गर्नुभएको थियो ।