काठमाडौं,२ असार । भारतीय अवरोधका कारण नेपालका चिया उद्योग धमाधम बन्द भएपछि नेकपाले सरकारको ध्यानाकर्षण गराएको छ । नेकपाका संयोजक लोकनारायण सुवेदीले आज एक बक्तब्य प्रकाशितगरी बन्द भएका चिया उद्योगहरु तत्काल खुलाउन सरकारसँग माग गर्नुभएको छ । उहाँले बक्तब्यमा भन्नुभएको छ–भारतले कथित स्ट्याण्डर्ड अपरेटिभ प्रोसिजरको नाउमा नेपाली चिया निर्यातमा खिचलो झिकेको र नेपाल सरकारले त्यस समस्याको ततकाल निकारणगर्ने कुनै प्रयत्न नगरेकोले नेपाली चिया उद्योगहरु बन्द हुन बाध्य भएकोप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको चिया निर्यातमा बिभिन्न स्तरको अपारदर्शी जाँच प्रकृया भारतले लादेको र नतिजा आउन बिलम्ब हुने, अस्वीकृत भए स्वत नोक्सानीमा जाने तथा भण्डारणको अभाव समेतलेगर्दा नेपाली चिया–उद्योगहिरुका अगाडि ठूलो जोखिम खडा गरेको कुरा नेपाल सरकार समक्ष राख्दा पनि कुनै सुनवाई नभए पछि हिजो असार एकगतेदेखि चिया उद्योग बन्दगरेको सूचना जारीगरेका छन् ।

यतिबेला त्यसरी जटील र झण्झटिलो गुणतस्तर जाँचका कारणले भारतमा निर्यात भएको २ लाख किलोभन्दा बढी चिया अलपत्र परेको र नेपालका चिया उद्योगहरुमा १० लाख किलोभन्दा बढी चियापत्ति थन्किएर रहेको उद्योगीहरुले बताएका छन् । जसले गर्दा उद्योगीहरुले चिया उत्पादक किसानहरुलाई चिया पत्तिको भुक्तानीसमेत दिन नसकेको जनाएका छन् । यसरी नेपालको चिया निर्यात बन्द भएको छ । तर छिटो छरितो सेवा प्रबाह र सुशासन दिने हो हल्ला पिटिरहेको बर्तमान सरकारको परराष्ट्र मन्त्री शिशिर खनाल र रास्वपाका नेता रबि लामिछाने नयाँ दिल्ली भ्रमण गरेर फर्के पनि चिया उद्योगी र किसानहरुको यो समस्याप्रति कुनै चासो र चिन्ता लिएको नदेखिएको गुनासो चिया उद्योगी र उत्पादक किसानहरुले गरिरहेका छन् । फलतः यो समस्या हल हुने छाँटकाँट नदेखेपछि चिया उद्योगीहरु बाध्य र निराश भएर उद्योग बन्दगर्न अग्रसर भएका छन्भने किसानहरु मूल्य नपाएर अलपत्र परेका छन् ।

उहाँले बक्तब्यमा सरकारले भारत सरकारसँग शिघ्रातिशिघ्र यो समस्या सुल्झाउन प्रयत्न गरेनभने त्यसको मारमा चिया उद्योगी र उत्पादक किसानहरु कुरा निश्चित छ । अतः नेपाल कम्युनिष्ट पार्टी तत्काल यो समस्या हलगर्न, चिया किसान र उद्योगीको नोक्सानीको क्षतिपूर्ति प्रदानगर्न र चियाको अन्तर्राष्ट्रिय बजारलाई सुनिश्चित र सुचारुगर्न जोडदार माग गर्दछ । राज्यको आय स्तर बढ्ने, आत्मनिर्भरतमा सहयोग पुग्ने र यस कृषिजन्य उद्योगमा लागेका किसान र उद्योगीहरु पनि उत्साहित र प्रोत्साहित हुने समस्या सुल्झाउन सरकार तुरुन्तै लागोस् अन्यथा बाध्य भएर चिया उद्योगी र किसाहरु आन्दोलनमा उत्रनपर्ने स्थिति खडा हुने निश्चित छ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी र्आैल्याउँदछ भन्नुभएको छ ।