
काठमाडौं, २७ मंसिर । समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिने भएको छ । प्राप्त समाचारअनुसार भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास एवं ऊर्जामन्त्री कूलमान घिसिङले समयमै पूर्वाधार निमार्ण सम्पन्न नगरे निर्माण कम्पनीको ठेकेदारसँग ठेक्का तोड्ने चेतावनी दिनुभएको हो । रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदीनदीमा रहेको अलपत्र पुलको अनुगमनगर्दै उहाँले ठेकेदारले निर्धारित समयमा काम सक्नुपर्नेमा जोड दिनुभयो । मन्त्री घिसिङले ठेकेदार दयाराम साहलाई अनुगमनस्थलमा बोलाएर यथाशीघ्र अलपत्र पुलको काम सम्पन्नगर्न निर्देशन दिनुभएको थियो । ठेकेदार साहले जेठभित्र कुनैपनि हालतमा काम सम्पन्नगर्ने प्रतिबद्धता जनाएपछि मन्त्री घिसिङले यदी कामगर्न नसक्ने होभने ठेक्का तोड्ने दिने चेतावनी दिनुभएको थियो । ठेकेदार साहले पुलको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै बाँकी आगामी जेठभित्र बाँकी कामगर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
पुल निर्माणगर्न पप्पु शिवशंकर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजारमा सम्झौता गरेको थियो । सो पुल समयमै सम्पन्न नहुँदा गैडाटारवासीले सास्ती खेप्दैआइरहेका छन् । मन्त्री घिसिङले हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्नेगरी बागमती नदीमा बनाउन लागिएको बडहर्वा पुलको पनि अनुगमन गर्नुभएको थियो । दुर्गा भगवती–५ बडहर्वास्थित बागमती नदीमा निर्माणाधीन पुल १५ बर्षदेखि अलपत्र छ ।
०६७ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा भौतिक निर्माण तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संयुक्त रुपमा उक्त पुलको शिलान्यास गर्नुभएको थियो । उक्त पुल निर्माण हुननसक्नुको कारणबारे आफूले छानबिनगर्ने मन्त्री घिसिङले बताउनुभयो । विकासको मुख्य आधार भनेको पुल भएकाले यस्ता पूर्वाधार निर्माण र विकास रोक्न नहुने उहाँले धारणा राख्नुभयो । पूर्वाधार निर्माणको अनुगमनसँगै मन्त्री घिसिङले हिजै धार्मिक पर्यटकीय क्षेत्रकारुपमा रहेको रौतहटको शिवनगरस्थित शिव मन्दिरको अवलोकन गर्नुभएको थियो ।