काठमाडौं,२० पुस । गोर्खाली सेनाले ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा २११औँ विजय उत्सव मनाइएको छ । पर्सागढी नगरपालिका कार्यालयदेखि पर्सागढीसम्म झाँकीसहितको पदयात्रा गरेर हिजो विजय उत्सव मनाइएको हो । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौजबीच भएको युद्धले नेपाल मुलुक जोगाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सोको स्मरणमा विजय उत्सव भव्य रुपमा मनाइएको जानकारी दिनुभयो । उहाँले अत्याधुनिक हातहातियारले सुसज्जित ब्रिटिस सेनालाई गोर्खाली सेनाले निकै चलाखीपूर्ण ढंगले युद्ध जितेको अवसरको सम्झनामा विजय उत्सव मनाएका हौँ ।
इतिहासको उक्त गौरवमय क्षण सदा स्मरणीय योग्य छ भन्नुभयो । प्रमुख पाठकले नेपालका अन्य ठाउँका गढीहरु व्यवस्थित भए पनि पर्सागढी जग्गाको किचलोका कारण व्यवस्थित गराउन चुनौतीपूर्ण रहेको बताउनुभयो । श्रीजंग गण पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्कीले ब्यान्डबाजासहित सेनाको ऐतिहासिक वेशभूषासहित पदयात्रा गरेर विजय उत्सव मनाइएको बताउनुभयो । पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजंग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा विजय उत्सव मनाएको हो ।
सो उत्सवमा पर्सागढी नगरपालिकामा रहेका सामुदायिक विद्यालय तथा स्थानीय उपस्थिति थियो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जंगललाई संरक्षण र प्रवद्र्धनगर्न तीनैतहका सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । रासस