
काठमाडौं, १४ मंसिर । सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थाहा भएको छ । आयोगले एक विज्ञप्ति जारीगरी कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धादायर गरेको जनाएको छ । आयोगले पुरानो पेश्कि फछ्र्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेश्कि दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिनागर्न सहयोग गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु रामचन्द्र ढकाल, कृष्णप्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई विपक्षी बनाई मुद्धा दायर गरेको छ ।
गाउँपालिकामा कार्यरत अधिकृत छैठौँ यादवले स्वास्थ्यसम्बन्धी बिभिन्न कार्यक्रम सञ्चालनगर्न लिएको पेश्कि रकम काम सम्पन्न नगरी र बिल भरपाई पेश नगरी हिनामिना गरेको आरोपमा आयोगले हिजो मुद्धा दायर गरेको छ । यादवले आर्थिक वर्ष ०७५÷७६ देखि ०७८÷७९ सम्म पटक,पटक लिएको पेश्किमध्ये ४६ लाख सात हजार बराबरको बिल भरपाई पेश नगरी र सो रकम फिर्ता नगरी सरकारी सम्पत्ति हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । आयोगले आरोपीहरुबाट हिनामिना भएको बिगो रकम असुलउपरगर्न र भ्रष्टाचार निवारण ऐन–०५९ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ ।