स्याक्रामेन्टो, ७ साउन । अमेरिकाले चाँडै नयाँ भन्सार शुल्क लागूगर्न लागेकोहुँदा व्यापारीले सामानहरु पहिले नै आयात गर्न थालेका छन् । यसले देशका ठूला बन्दरगाहहरुमा चाप अत्यधिक बढेको छ भने साना बन्दरगाहहरुमा काम घट्दै गएको छ । अमेरिकाको सबैभन्दा ठूलो बन्दरगाह लस एन्जलसमा एक महिनामा झण्डै नौ लाख सामान कन्टेनर भित्रिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो, र गत वर्षको सोही महिनाको तुलनामा करिब आठ प्रतिशतले बढी हो । बन्दरगाहका प्रमुखले जानकारी दिएकाअनुसार व्यापारीहरुले चाडपर्वका सामानहरु अगाडि नै ल्याइरहेका छन् ताकि भन्सार शुल्क लाग्नु अघि छिटो सामान निकासी गर्न सकियोस् । तर यस्तो अवस्था लामो समय नटिक्ने र शुल्क बढेपछि सामानको मात्रा घट्ने अनुमान गरिएको छ । तर ठूला बन्दरगाहमा बढेको व्यापार साना बन्दरगाहहरुबाट स्थानान्तरण गरिएको हो ।

ओकल्यान्ड बन्दरगाहमा गत महिना सामानको आवतजावत अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी घटेको छ । यो गिरावट कुनै मौसमको असर नभई भन्सार शुल्कबारेको अन्योलताका कारण भएको हो । ढुवानीसम्बन्धी एक प्रतिवेदनमा ठूला बन्दरगाहहरुमा कामको अवस्था सामान्य भए पनि साना बन्दरगाहहरुमा दबाब बढेको भनिएको छ । व्यापारीहरुले जोखिम कमगर्नका लागि सिधै ठूला बन्दरगाहहरुमा सामान पठाउन थालेका छन् । यसको असर सिएटल र टाकुमा क्षेत्रका बन्दरगाहहरुमा पनि देखिएको छ, जहाँ नयाँ भन्सार शुल्क घोषणापछि करिब ३० प्रतिशतले सामानको ओसारपसार घटेको छ । यसले त्यहाँका कामदारहरुको कामको समय समेत घटाएको छ ।

विश्लेषकहरुका अनुसार यस्तो परिवर्तित ढुवानी प्रणालीले साना बन्दरगाहमा भर पर्ने क्षेत्रीय अर्थतन्त्रमा गहिरो असर पार्नेछ । ओकल्यान्ड बन्दरगाहबाट मात्रै करिब ९८ हजार मानिसको रोजगारी र ठूलो आर्थिक गतिविधि जोडिएको छ । यदि भन्सार शुल्क अझै बढ्यो र व्यापारिक समझदारी नभएभने ठूला र साना बन्दरगाहबीचको असन्तुलन अझै गहिरिने सम्भावना देखिएको छ । यस्तो अवस्थाको सबैभन्दा ठूलो असर कृषकहरुमा पर्नसक्छ, किनभने ओकल्यान्डबाट आधाभन्दा बढी कन्टेनरहरुमा मासु, स्याउ, सुन्तला जस्ता कृषि उपजहरु एसिया निर्यात गरिन्छ । रासस÷सिन्ह्वा