ओटावा, २२ भदौ । क्यानडामा अगस्त महिनामा बेरोजगारी दर ७.१ प्रतिशत पुगेको छ, जुन २०१६ को मे महिनापछि सबैभन्दा उच्च दर रहेको क्यानडाको सांख्यिकीय एजेन्सीले जानकारी दिएको छ । जनवरीदेखि, देशको बेरोजगारी दर ०.५ प्रतिशत अंकले वृद्धि भएको छ । यदि २०१७ देखि २०१९ सम्मको अवस्था हेर्ने होभने, त्यस समयको औसत बेरोजगारी दर ६ प्रतिशतको आसपास थियो, जुन कोरोना महामारीको शुरु हुनुभन्दा पहिलेको स्थिति थियो । सांख्यिकीय एजेन्सीकाअनुसार, अगस्त महिनामा क्यानडामा १.६ लाख बेरोजगार रहेका थिए, जुन जुलाईको तुलनामा ३४ हजार व्यक्तिको (२.२ प्रतिशत) वृद्धि हो । क्यानडाका २० प्रमुख महानगर क्षेत्रहरुमा, अगस्त महिनामा सबैभन्दा उच्च बेरोजगारी दर दक्षिणी अन्टेरियोमा देखिएको छ, जहाँ विंडसरमा ११.१ प्रतिशत, ओशावामा ९ प्रतिशत र टोरन्टोमा ८.९ प्रतिशत दर रहेको थियो ।
यस वर्षको शुरुवातदेखि यी क्षेत्रहरु अमेरिकी ट्यारिफको कार्यान्वयनको कारण अनिश्चित आर्थिक परिस्थितिको सामना गर्दैआएका छन् । जसले विशेष रुपमा मोटर गाडी निर्यातलाई प्रभावित पारेको छ । रासस,सिन्ह्वा