चितवनमा धर्ना दिँदै चिकित्सकहरु

काठमाडौं, २३ असार । आजबाट चिकित्सकहरु चरणबद्ध आन्दोलनमा उत्रिदैछन्भने अस्पतालहरु ठप्प हुनेभएका छन् । नेपाल चिकित्सक संघले उपभोक्ता अदालतसम्बन्धी बिर्षयमा असन्तुष्टि जनाउँदै घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत हिजो चितवनको भरतपुर अस्पतालमा चिकित्सकहरुले धर्ना दिएका थिए । चिकित्सकसँग निजी अस्पताल सञ्चालक, नर्सलगायत स्वास्थ्य क्षेत्रका सरोकारवालाले ऐक्यबद्धता जनाएका छन् । चितवनका बिभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले भरतपुर अस्पतालमा जम्माभएर एकघण्टा धर्नादिएको बताइएको छ । धर्ना कार्यक्रममा नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा उमेश नेपाल, भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष डा. भोजराज अधिकारी, संघका उपाध्यक्ष एवं भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनका अध्यक्ष डा. दीपेन्द्र न्यौपाने, निजी अस्पताल समन्वय समिति (अफिन) चितवनका अध्यक्ष विक्रम अधिकारी, नेपाल नर्सिङ संघका केन्द्रीय उपाध्यक्ष बबिता घिमिरेलगायतले बोल्नुभएको थियो । उहाँहरुले आफ्ना माग पूरा नहुञ्जेल आन्दोलन जारी रहनेभन्दै चिकित्सकीय सेवालाई उपभोक्ता अदालत लैजान नहुने बताउनुभएको थियो ।

यसैबीच नेपाल बार एशोसिएशनले चिकित्सकहरुले गर्नलागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितिलाई थप जटिल बन्ननदिइ वार्ताद्वारा समस्या समाधानगर्न आग्रह गरेको छ । नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले एक प्रेस विज्ञप्ति जारीगरी वार्ताद्वारा समस्या समाधानगर्न नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरिएको हो । विज्ञप्तिमा नेपाल मेडिकल एशोसिएशनलेगर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिई वार्ताद्वारा समस्या समाधानगर्न नेपाल बार एशोसिएशन, नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई हार्दिक आग्रह गर्दछौँ भनिएको छ ।