
तस्वीर रासस
काठमाडौं,१० पुस । आज त्रिभुवन विश्वबिद्यालयको ५१ आँै दीक्षान्त समारोह हुँदैछ । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुईहजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् । नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजनागर्न लागिएको विश्वबिद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिनुभएको छ । समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । टोकियो विश्वबिद्यालयमा आबद्ध उहाँले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउनुभएको थियो । उपकुलपति प्रा डा अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताउनुभयो ।
मण्डप निर्माण, दीक्षित बिद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी बिद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा बिद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ । विश्वबिद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र बिद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ बिद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना बिद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताउनुभयो । कार्यक्रममा बिभिन्न संकाय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् ।