काठमाडौं, ३ पुस । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन र केन्द्रिय कार्य समितिको निर्वाचन आज बिहान सम्पन्न भएको छ । आज दिउँसो घोषणासभा हुने बताइएको छ । मत गणना बिहान आठबजेबाट शुरुभएको हो । मतदानमा दुईहजार २२७ जनाले मतदान गर्नुभएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलकाअनुसार ३६ जना मतदानमा अनुस्थित भएको पाइएको छ । एमालेमा नयाँ नेतृत्वका लागि हिजो बुधबार बिहान ९ः१२ बजेदेखि मतदान शुरु भएको थियो । जसमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचनमा जम्मा दुई हजार २६३ मतदाता रहेकोमा दुईहजार २२७ मत खसेको छ । यो ९८.०४ प्रतिशत हो । महाधिवेशनमा एमालेमा केपी ओली र ईश्वर पोखरेल प्यानलबीच प्रतिश्पर्धा भएको छ ।
महासचिवमा ओली प्यानलबाट शंकर पोखरेल र ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेको उम्मेदवार हुनुहुन्छ । ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तको उम्मेदवारी परेको छ । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ । त्यस्तै सचिवमा शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराई, खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल र यामलाल कँडेलको उम्मेदवारी परेको छ । ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट, बृन्दा पाण्डे, अरुण नेपाल र टंकप्रसाद कार्की र पर्शुराममेघी गुरुङ उपाध्यक्षमा उम्मेदवार हुनुभएको छ ।
उपमहासचिवमा योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल र बैजनाथ चौधरी रहनुभएको छ । सचिवमा विनोद ढकाल, अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र कृष्णगोपाल श्रेष्ठ उम्मेदवार रहनुभएको छ । यो समाचार तयारगर्दासम्मको अवस्थामा बर्तमान अध्यक्ष केपी ओली र उहाँको प्यानल अत्यधिक मतले बिजयी हुने आंकलन गरिएको थियो ।