तस्वीर रासस
काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसमा विशेष महाधिवेशन रोक्नमात्र कार्यतालिका आएको आशंका ब्यक्तगर्न थालिएको छ । नेपाली कांगे्रसको १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएकोमा विशेष महाधिवेशन पक्षधरले सकारात्मक उपलब्धिका रुपमा लिँदै विशेष महाधिवेशन रोक्नमात्र यस्तो गरिएको होभन्ने नबनाउन आग्रह गरेको छ । विशेष महाधिवेशन पक्षधरले जारी गरेको विज्ञप्तिमा विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरको दबावस्वरुप यो घोषणा विशेष महाधिवेशनलाई निस्तेज पार्न गरिएको हो ? वा वास्तवमा महाधिवेशनगर्न खोजिएको हो ? समयक्रमले जवाफ दिने उल्लेख छ । कांग्रेसका दुईहजार ४८८ जना (कूल महाधिवेशन प्रतिनिधिको ५४.८ प्रतिशत) ले गत असोज २९ गते पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको मागगर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएपछि केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । त्यो निवेदन केवल दबाबको अस्त्र मात्र नभई समयमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय समितिको वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ । आगामी फागुन २१ गते प्रतिनिधि सदस्यको निर्वाचनअघि कांग्रेसको महाधिवेशन सम्पन्न गर्नु संवैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उल्लेखगर्दै वक्तव्यमा केन्द्रीय समितिले प्रस्ताव गरेको आगामी पुस २६–२८ को महाधिवेशन मिति पूर्वपार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमा अव्यावहारिक र अवैज्ञानिक देखिएको हस्ताक्षरकर्ताको नेतृत्व गर्नुभएका कांग्रेस नेता गुरुराज घिमिरेले बताउनुभयो ।

कुनैपनि बहाना वा अवस्थामा अधिवेशनका श्रृंखलाहरु अवरुद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित रहनुका साथै विधानबमोजिम पूर्णरुपमा कार्यान्वयन योग्य रहेको उहाँले बताउनुभयो । आगामी पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्यसमेत प्रष्ट नभएको हस्ताक्षरकर्ताको भनाइ छ । यसले समयमै अधिवेशन सम्पन्न हुँदैनभन्ने संशयलाई आधार दिएको छ । एकजुट भएर १५औँ महाधिवेशनलाई समयमा सम्पन्नगर्न सक्रियतापूर्वक सहभागी हुन पनि विशेष महाधिवेशन पक्षधर नेताहरुले समर्थक एवं शुभेच्छुकमा आग्रह गरेका छन् ।