काठमाडौं, २५ असोज । नेपाली कांग्रेस र एमालेको समान धारणा रहेको छ । दुबै पार्टीको तत्काल नेतृत्व परिवर्तन नहुने भएको छ । त्यसैगरी दुबै पार्टीले संसद पुनस्र्थापना र भदौ २४ मा भएको ध्वंशको छानविनमा जोड दिएका छन् । दुबै पार्टीको आज पनि बैठक बस्दैछ । केन्द्रिय समितिका बैठक सकिएपछि संसद पुनस्र्थापनाका लागि रिट दायरगर्ने तयारी रहेको छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा हिजो आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उहाँले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरुलाई सुझाव दिनुभएको हो ।
राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्धगरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै राजनीतिक दलहरुमा कुनै द्विविधा वा अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्नुभएको थियो । उहाँले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए देश कहाँ पुग्छ ? भन्ने शोच्न पनि सबैलाई आग्रह गर्नुभएको थियो । सबै राजनीतिक पार्टीले अन्योल सृजना नगरी जेनजी समूहको माग पूरागर्ने उद्देश्यसहित जनतामाझ जान उहाँले अनुरोध गर्नुभयो । बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले लोकतन्त्रमा विश्वासगर्ने दलहरु निर्वाचनमा जान सधैँ तयार रहेको र शान्ति सुरक्षा व्यवस्था, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारसमक्ष आग्रह गनुभएको थियो । प्रधानमन्त्री सुशीला कार्कीले दलहरुको सहभागिताबिना निर्वाचन सम्भव नहुने विषयमा सरकार जानकार रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्नगर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । उहाँले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सरकारलेगर्ने दाबि गर्नुभएको थियो ।