काठमाडौं, २२ भदौ । अनुवाद तथा भाषा सेवाको क्षेत्रलाई सुदृढ, संगठित र व्यावसायिक बनाउने लक्ष्यकासाथ नेपालको पहिलो अनुवादक भेला हिजो कठमाडौंमा सम्पन्न भएको छ । भेलामा नेपालका ३० भन्दा बढी सक्रिय अनुवादकको सहभागिता थियो । भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरद्वारा उद्घाटन गरिएको भेलाको अध्यक्षता अनुवादक मोदनारायण झाले गर्नुभएको थियो । कार्यक्रमका आयोजक ठाकुर अम्गाईंले भेलाको आवश्यकता औँल्याउँदै वर्षौँसम्म अनुवादकहरु संगठित नभई आआफ्नै रुपमा कामगर्दै आएका पृष्ठभूमिमा साझा मञ्च बनाएर व्यावसायिक प्रवद्र्घनगर्न, मापदण्ड बनाउन र आफ्नो कामको सम्मान कायमगर्न आजको भेलाले त्यसतर्फ अग्रसर हुने निर्णय गरेको बताउनुभयो ।

नेपालमा अनुवाद तथा भाषा सेवालाई अत्यावश्यक सेवाका रुपमा स्थापितगर्न यो भेला महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । भेलामा नेपालमा अनुवाद पेसाको इतिहास र वर्तमान अवस्था, व्यावसायिक संगठनको महत्त्व र अन्तरराष्ट्रिय अनुभव र अभ्यासको विषयमा प्रस्तुतीकरण तथा छलफल भएको थियो । भेलाले एक तदर्थ समिति तथा विधान मस्यौदा समिति गठन गरेको छ । दुवै समितिको पहलमा नेपालको पहिलो व्यावसायिक अनुवादक संघ स्थापनाको प्रक्रिया अघि बढाइने छ । रासस