काठमाडौं, १३ असोज । काठमाडौं उपत्यकामा मात्रै छहजार १०० प्रहरी परिचालन गरिएको थाहा भएको छ । चाडपर्वलाई लक्षित गरेर यसबर्ष काठमाडौं उपत्यकामा छहजार १०० भन्दा बढी प्रहरी परिचालन भएको बताइन्छ । उपत्यकाका तीनजिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार छहजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने तयारी गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जानकारी दिनुभएको छ । उहाँले दशैँ, तिहार तथा छठ पर्वहरुमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरु बढी हुने भएकाले सोहीअनुसारको रणनीति बनाएर काम शुरुगरिएको छ । जिल्ला प्रमुखहरुको कमान्डमा प्रहरी परिचालन हुनेछन् भन्नुभयो ।

अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरीको पट्रोल टोलीसहितको गस्ती, साइकलगस्ती, नाकाहरुमा डग स्निफिङ, सादा पोशाकका प्रहरी परिचालन, सिआरभी, क्युआरटीलाई तयारी अवस्थामा राखेर काम शुरुगरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताउनुभएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका तीन जिल्लामा ७८ स्थानमा यात्रु सहायताकक्ष स्थापनागरी काम शुरु गरिएको र ड्रोनबाट समेत निगरानीको काम हुने भएकाले निर्धक्क र चनाखो भएर दशैँ, तिहारलगायत चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ । गत भदौको प्रदर्शनकाक्रममा कारागारमा रहेका केही कैदीबन्दी पनि फरार रहेकाले यस बर्ष चोरी, लुटपाटलगायत घटना हुनसक्ने भएकाले टोल, छिमेकमा नयाँ व्यक्ति अथवा फरार रहेका व्यक्ति देखिएको खण्डमा प्रहरीलाई खबर गर्न प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ ।