काठमाडौं २८ मंसिर । लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी पौष ११ गते आयोजनागर्न लागेको किसान भेलाको सन्दर्भमा अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको आयोजनमामा काठमाडौंमा किसानसँग बुद्धिजीवी बिषय एक महत्वपूर्ण कार्यक्रम सम्पन्न भयो । नेपाल कम्युनिष्ट पार्टीको बुद्धिजीवी संगठन अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको आयोजनमा सम्पन्न कार्यक्रममा बिभिन्न बक्ताहरुले देशको अबस्था, नेपाली कृषि र किसानका समस्या र खोजिनु पर्ने निराकरणका बारेमा बोल्नुहुँदै नेपाली कृषि र किसानका तत्कालीन र दीर्घकालीन प्रकृतिका समस्या हल नभई नेपाली राष्ट्रले भोगिरहेका आन्तरिक र बाह्य समस्या पनि हल हुँदैनन् र नेपाली क्रान्तिको कार्यभार पनि पूरा हुँदैनभन्ने निष्कर्श निकालेका छन् । पाँच प्रमुख शिर्षकमा प्रस्तुत कार्यपत्रले किसानका बर्तमान समस्या र तिनको समाधनका तत्कालीन र दीर्घकालीन उपायहरुको रुपरेखा दिएको छ । बुद्धिजीवी प्राध्यापक सुशील भटराईको स्वागत मन्तब्यबाट अघिबढेको कार्यक्रमको आरम्भमा नेपाली जन आन्दोलनका ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुप्रति सम्मान प्रकटगर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

त्यसक्रममा नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले देशमा किसानै नरहने र कृषि नै सकिने स्थिति सिर्जना गरिन लागेकोमा चिन्ता ब्यक्तगर्दै र बक्ताहरुले उठाएको प्रसंगलाई चिर्दै नेपाली कृषि र किसानलाई उठाउने, जगाउने र अघि बढाउने नीति लिएर अघिबढ्न सकेमात्र नेपाल कृषिमा आत्मनिर्भर हुनसक्ने, देशमा रेमिट्यान्स ल्याउने र देशको अर्थतन्त्र धान्ने पनि किसानकै छोरो छोरी हुन्, किसान जीवनदायिनी शक्ति भएको अक्सिनज र पानी पछि मानिसलाई जीवन धान्न र चलाउन कृषि उत्पादन अर्थात अन्नबाली, तरकारी, फलफूल, माछामासु जुन चाहिन्छ ती सबै जीवन चलयामान गराउने बस्तुहरु कृषि र किसानबाटै मात्र पाइने हुदा कृषि र किसानको कति ठूलो महत्व छ र यसको कुनै बिकल्प छैन । त्यसैले यस क्षेत्रमा युगौंदेखि कायम रहेका समस्याहरु सही किसिमले हल गरिएनभने नेपालको राष्ट्रियता जनतन्त्र र जनजीबिका समस्या हल हुन हुननसक्ने अहिलेसम्मको नेपालको स्थितिले प्रष्ट पारेको बताउनुभएको थियो । उहाँले बुद्धिजीवीहरुले किसान र कृषिका समस्या उजागर गर्ने र तिनको निराकरणका लागि बस्तुबादी भएर कमल चलाउनु पर्ने, यस्ता कार्यक्रमहरु निरन्तर गर्नुपर्ने बढ्दो आवश्यकता परिपूर्तिगर्नकै लागि ‘किसानसँग बुद्धिजीवी’ भन्ने यो आजको अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको र एउटा राम्रो परम्परा शुरुभएको पहिलो अनुभव भइरहेको बताउनुभएको थियो ।

त्यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता तथा क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङले नेपाली कृषि र किसान कसरी सामन्तबाद र पूँजीवादको शिकार हुँदै आयो भन्ने ऐतिहासिक यथार्थ कोट्याउँदै र त्यसको सही निराकरण नभएसम्म नेपाल सामन्तबाद र साम्राज्यबादबाट मुक्त हुनसक्तैन भन्ने यथार्थका आधारमा नेपालका लागि नयाँ जनबादी क्रान्तिको कार्यक्रम प्रस्तुतगर्ने कमरेड पुष्पललको स्मरणगर्दै उहाले अहिलेसम्म नेपालको कृषि र किसानको स्थिति नाजुक रहेको, अर्थतन्त्र परनिर्भर बनेको र अहिलेसम्म बनेका सरकारहरुले कृषि र किसानलाई गम्भीररुपमा ध्यान नदिएको र छवटा किसान संघले संयुक्तरुपमा तीन तीन पटक सरकारका प्रधानमन्त्रीहरुलाई कृषि र किसानका समस्यालाई लिएर ज्ञापनपत्र दिदा पनि कुनै सुनुवाई नभएको बताउनु भएको थियो । त्यसैगरी नेकपा बहुमतका नेता तथा किसान संघका संयोजक गुणराज लोहनीले ‘नदी, खोला, तलाउ, इनार कुन पानीमा धान खेती बढी राम्रोसँग उत्पादन हुन्छ भन्ने कुरा समेत ज्ञान नभएका नेपालमा कृषि बिज्ञ छन्भन्ने प्रसँग अघिसार्दै ४५ प्रतिशत जमिन बन क्षेत्र र ४० प्रतिशत जमिन नेपालमा कृषि रहीत रहेबाट नेपालको कृषि र किसानको हालत कस्तो रहेछ भन्ने प्रष्ट हुन्छ भन्नुभएको थियो । त्यसैगरी नेकपा(मसाल)का प्रबक्ता रामप्रकाश पुरीले छवटाबापन्थी किसान संगठनहरुले कृषि र किसानका समस्या हल गर्न सरकारलाई बारम्बार घच्घच्याए पनि त्यसको सुनवाई नभएको र बर्तमान ब्यवस्थाले सानातिना गर्न सक्ने सुधार पनि गर्ननसकेको र वास्तवमा किसानमा समस्या बर्गीय आन्दोलनबाट मात्र समाधान हुने र बिदेशी कृषिको शिक्षा दिएर नेपाली किसानको, ज्ञान, शीप र कार्य कुशलतालाई तिरष्कार गरेर कृषि र किसानको उत्थान नहुने बताउनुभएको थियो ।

कार्यक्रममा पूर्ब गभर्नर तथा योजना आयोगका उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीले अर्थतन्त्रमा कृषिको योगदान २५ प्रतिशत मात्र रहेको र यसलेगर्दा हाम्रो देश कृषि प्रधान देश भन्न नसकिने स्थिति उत्पन्न भएको, कृषिसँग मानिसको नाता(उत्पादन सम्वन्ध) पनि प्रष्ट नभएको, कम्युनिष्ट नाम गरेका प्रधानमन्त्रीहरुले पनि सत्तामा रहँदा भूमिसुधारको उच्चारणसम्म नगरेको,कृषि जमिन रियल स्टेटमा परिणत गरिएको, कृष उत्पादन पनि आयात निर्भर रहेको दुइ महिना अघि मात्र १८ अर्बको चामल आयात गरिएको बताउनुभएको थियो । त्यसैगरी कृषिबिज्ञ श्रीकान्त पण्डितले किसान र कृषि पेशाप्रतिको हेय र अपानजनक भाष्यले पनि किसान शक्तमाथि प्रहार गरेको छ । हर किसिमले कृषि र किसान उठाउने र अघि बढाउने प्रयत्न गरिनु पर्दछ । त्यस दिशामा यो अन्तरक्रियाले सफलता पाउन सकोस् भन्नुभएको थियो । त्यसैगरी नेकपाका सचिवालय सदस्य डा.भगवानचन्द्र ज्ञवालीले सही नीति र नेतृत्व बिना आमूल परिबर्तन हुन सक्तैन भन्ने कुरा नेपालमा माओवादीको तुहाइएको आन्दोलन र रुसमा यल्तसिनको कदमले प्रष्टपारेको बिचलनको स्थितिको उदाहरण दिनुहुँदै अब देश र जनतामा आधारित सही नीतिको खोजीगर्न र जन आधारित आन्दोलन विकसितगर्न यस्ता गोष्ठी र अन्तरक्रियाहरु सहायक हुन्छन् भन्नु भएको थियो ।

त्यसैगरी नेकपाका अर्का सचिवालय सदस्य बीके अर्यालले जनसहकारीको माध्यमबाट किसानको उत्पादन र आय स्तर उठाउन सहयोग पुग्ने किसिमले कामगर्ने योजना किसान भेलामा प्रस्तुत गरिने जानकारी दिनु हुँदै त्यसो गर्न सके किसान र उपभोक्ताहरु बिचौलियाबाट ठगिने स्थितिको अन्त्य हुने र किसानको आमदानी बढ्ने र उनीहरुमा कृषिप्रति उत्साह र जाँगर पैदा हुने बताउनुभएको थियो । त्यसैगरी पूर्ब मानव अधिकारकर्मी तथा बन बिज्ञ प्रेमबहादुर थापाले किसानले आफ्नो सामानको मूल्य आफ्नो लागत मूल्यअनुसार तोक्न सक्ने स्थिति र बजारको ज्ञानको अभावले घाटा बेहोरिरहनु परेको उदाहरण दिनु हुदै किसानलाई उचित मूल्य दिनस सक्ने ब्यवस्था गरिनुपर्दछ भन्नु भएको थियो । कार्यक्रम सञ्चालन गर्नु हुँदै महादेब नाथ र आफुले समेत संक्षिप्त बूँदागत लेखिएको कार्यपत्र प्रस्तुत गर्नु हुँदै अखिल नेपाल बुद्धिजीवी संघका संयोजक महादीप पोखरेलले नेपालको कृषि र पशुपालन क्षेत्र कसरी संरचनागत संकट र बहुराष्ट्रिय कम्पनीहरुको नियन्त्रणमा गइरहेको छ र त्यसको समाधान के हुन सक्छ भन्नुभएको थियो ।