काठमाडौं, ११ भदौ । कोशी प्रदेशमा पत्रकारहरुको आन्दोलन सफलतातिर अगाडि बढेको जानकारहरुले बताएका छन् । नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा पत्रकारलाई एक लाखसम्म दण्ड जरिवानागर्ने, प्रेस रजिष्ट्रारले जरिवाना र क्षतिपूर्ति भराउने आदेशगर्न सक्नेजस्ता व्यवस्थासहित प्रदेशसभामा पेश भएको विधेयकप्रति असहमति जनाउँदै आन्दोलन गरिरहेको छ । यसैक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक–०८१’ सम्बन्धमा सरोकार भएकाहरुले राखेको चासोप्रति आफू गम्भीर रहेको बताउनुएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको नेतृत्वको टोलीबाट हिजो ध्यानाकर्षण पत्र बुझ्दै उहाँले प्रमुख सरोकार भएका पत्रकारनै आन्दोलित हुने अवस्था हुँदाहुँदै विधेयक अघिबढ्दा समस्या हुने बताउनुभएको थियो । मुख्यमन्त्री कार्कीले न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भएर प्रदेशसभामा पेस भएको विधेयक प्रेसमैत्री नभएको विषयमा ध्यानाकर्ष भएको र आवश्यक छलफल गरेरमात्रै थप प्रक्रिया अगाडि बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

उहाँले चालु अधिवेशनबाट विधेयक पारित हुने सम्भावना कम रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले विधेयक प्रदेशसभाको क्षेत्राधिकारभित्र पर्ने भएकाले पत्रकार आन्दोलित भएको अवस्थामा अघिनबढाउनका लागि मैले आवश्य पहल गर्नेछु । संसद्भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकाले अन्य दलसँगसमेत छलफल गरेर अगाडिबढ्ने छौँ भन्नुभयो । उहाँले प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नका लागि यसअघि स्थापना गरिएको सञ्चार प्रतिष्ठान तत्कालीन सरकारले खारेजगर्दा महासंघसहितका पत्रकार संगठनले विरोध नजनाएकोमा गुनासो व्यक्त गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेश सरकारमा आएदेखिनै पत्रकारहरुको एउटा दर्विलो संस्था बनाउने इच्छा रहेको उल्लेख गर्दै कानुनमार्फत नै संस्था बनाएर कामगर्ने सोचअनुरुप विधेयक ल्याइएको धारणा राख्नुभएको थियो ।