तस्वीर प्रहरी प्रधान कार्यालय
काठमाडौं, १६ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी–०८२ कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री अर्यालले जनताहरुलाई सुरक्षाको अनुभूति दिन, प्रभावकारी सेवा प्रवाह र सुशासन स्थापितगर्न यो गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो । विधिको शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गर्दै आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै देखिएका सुरक्षा चुनौतीहरुलाई सम्बोधनगर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरुबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उहाँले बताउनुभयो । सीमित स्रोत र साधनको बाबजुद सुरक्षा निकायहरुले निर्वाह गरेका कार्यहरु प्रशंसनीय रहेको चर्चा गर्दै सुरक्षा निकायहरुलाई अझ व्यावसायिक र साधन स्रोत सम्पन्न बनाउन आफ्नो साथ र सहयोग निरन्तर रहि रहने समेत उहाँले बताउनुभयो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले गोष्ठीको औचित्यबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था र अपराध सम्बन्धी प्रमुख समस्या तथा चुनौतीहरुको पहिचान गरी ती चुनौतीहरुको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमा गर्न गोष्ठी उपलब्धीमूलक भएको बताउनुभयो । गोष्ठीबाट प्राप्त भएको निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गर्दै प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न तथा आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरुबीच प्रभावकारी सहकार्य तथा समन्वय गरी कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो । नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह–सचिव आनन्द काफ्लेले आ–आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव काली प्रसाद पराजुलीले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरु भएको उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।