तस्वीर प्रहरी प्रधान कार्यालय
काठमाडौं,९ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा आज आयोजित कार्यक्रमबीच एकदिवसीय कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी–०८२ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा संयुक्तरुपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री अर्यालले देशमा शान्ति सुव्यवस्था कायमगर्ने र विधिको शासनको पालना गर्दै सुदृढ सेवा प्रवाह गर्नुनै वर्तमान सरकारको मुख्य कार्यभार रहेको बताउनुभयो । साथै स्वतन्त्र र निष्पक्ष वातावरणमा आसन्न निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा योजना एबं रणनीति अवलम्बन गरी देखापरेका सुरक्षा चुनौतीहरुलाई सम्बोधनगर्दै सुरक्षा व्यवस्थापनलाई अझ सुदृढगर्दै कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल र कर्णाली प्रदशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले आआफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था, प्रमुख समस्या तथा चुनौतीहरुको पहिचान गरी त्यसको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमागर्न यो सुरक्षा गोष्ठी महत्वपूर्ण एबं उपलब्धिमूलक हुने उल्लेख गर्नुभएको थियो । प्रभावकारी कानून कार्यान्वयन सुशासन एबं समृद्धिको आधार भएको चर्चागर्दै कानून विपरितका क्रियाकलापहरुलाई कानूनी दायरामा ल्याउन सबैको प्रयत्न आवश्यक रहेको र यस गोष्ठीबाट प्राप्त भएका निर्देशन तथा पृष्ठपोषणले सुरक्षा निकाय एबं अन्य सरोकारवाला निकायबीच सामूहिक भावना तथा ऐक्यबद्धताका साथ अगाडि बढ्न सहयोग पु¥याउने बताउनुभएको थियो । प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सम्बन्धी बहुआयामिक विषयहरुमा केन्द्रित यस महत्वपूर्ण छलफलबाट प्राप्त भएको मार्गनिर्देशनको उच्च प्रयोगगर्दै प्रदेश अन्तर्गतको सुरक्षा व्यवस्थापन थप मजबुत पार्न तथा आसन्न निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन समेत उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह–सचिव आनन्द काफ्लेलेले आ–आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आआफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एबं आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभएको थियो । आजै बिहान शुरुभएको उक्त गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरु एबं जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।