काठमाडौं, १४ मंसिर । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबारगर्न इजाजतपत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्यादथप गरेको छ । विभागले यही मंसिर २७ गतेसम्म आवेदन दिन सकिनेगरी म्यादथप गरेको हो । यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशितगर्दै आवेदनका लागि सार्वजनिक आह्वानगरेको थियो । घर जग्गासम्बन्धी कारोबारगर्न इजाजतपत्र लिनुपर्ने मालपोत ऐन–०३४ मा भएको व्यवस्था बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबारगर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो ।

विभागले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रुपमा परिभाषित गरेको थियो । एक पटकमा तीनकरोड भन्दा बढीको कारोबारगर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिनसकिने प्रबन्ध गरेको थियो । घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एबं वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्नलागेको जनाइएको छ । विभागले गत शुक्रबारदेखि लागूहुनेगरी आवेदनको म्याद थप गरिएको जनाएको हो । विभागले पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगपालिकामा घर जग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ ।

यसअघि प्रकाशित सूचनाअनुसार न्यूनसंख्यामा आवेदन परेकाले म्याद थप गरिएको हो । विभागकाअनुसार गत कात्तिकमा घरजग्गा कारोबारबाट दुईअर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व संकलन भएको थियो । त्यसैगरी सेवा कर २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्टे«शन शुल्क एकअर्ब ५० करोड ६२ लाख ९६ हजार १४, पूँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार ३९२ बराबर संकलन भएको थियो । रासस