
तस्वीर रासस
काठमाडौं, २२ कातिक । चितवनको सैराहामा रास्वपाको विस्तारित बैठक जारी, कावा सभापति र महामन्त्रीको प्रतिवेदनमा छलफल थालिएको थाहा भएको छ । राससको एक समाचारअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले हिजो राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ । विस्तारित बैठकमा अर्यालले ३४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । राजनीतिक प्रतिवेदन प्रस्तुतगर्दै अर्यालले गत भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरुको संलग्नता रहेको स्वीकार गर्नुभएको थियो । प्रतिवेदनमा भनिएको छ–रास्वपाले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन माग गरेको छ, जसमा दोषीलाई कारवाही गरिनुपर्छ । उहाँले घटना योजनाबद्ध भएको आशंकागर्दै दोषीलाई कारवाही नगरे न्याय स्थापित नहुने बताउनुभयो । आजबाट सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले पेशगरेको राजनीतिक प्रतिवेदनमा गत भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको उल्लेख छ ।
प्रतिवेदनमा सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनाबद्ध होकि भन्ने आशंकालाई पनि बढाएको छ भनिएको छ । दोषीहरुलाई कारवाही नगरी न्याय स्थापित हुन नसक्नेभन्दै प्रतिवेदनमा दण्डहीनताले भविष्यमा पनि यस्ता घटना दोहोरिने सम्भावना बढ्ने उल्लेख गरिएको छ । दोषीलाई कारवाही गरेरमात्र पीडितले न्याय पाउँछन् र कानूनी राज्यको प्रत्याभूति हुनेछभन्ने उल्लेख गरिएको छ । छानबिनबाट मात्र भविष्यमा राज्यले बल प्रयोगगर्दा अपनाउनुपर्ने सावधानी, भीड नियन्त्रणका उचित उपाय र शान्तिपूर्ण प्रदर्शनलाई सम्मानगर्ने तरिकाबारे नयाँ नीति र कार्यविधि बनाउन सकिने उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनलाई आफ्नो अर्जुनदृष्टि बनाउँदै स्पष्ट बहुमतको सरकार निर्माणगर्ने लक्ष्यकासाथ अघि बढ्ने राजनीतिक कार्यदिशा तयगरेको प्रतिवेदनमा उल्लेख छ । कार्यवाहक सभापति अर्यालले चुनाव केन्द्रित रणनीति र त्यसका लागि वैकल्पिक शक्तिहरुबीच एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गरेको बताउनुभयो । प्रतिवेदनमा आगामी चुनावलाई देशको रुपान्तरणका लागि निर्णायक अवसरका रुपमा चित्रण गरिएको छ । पार्टीले स्पष्ट बहुमतको सरकारलेमात्र देशमा लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्यगर्न, नीतिगत स्थिरता प्रदानगर्न र भ्रष्टाचार नियन्त्रणगर्दै सुशासन कायमगर्न सक्ने ठहर रास्वपाले गरेको छ । महामन्त्री बुर्लाकोटीे तीन जिल्लाबाहेक अन्य जिल्लामा संगठनको संरचना पुगेको बताउनुभयो ।
७४ जिल्लमा सांगठनिक संरचना बनिसकेको र बिभिन्न आयोग तथा सांगठनिक संरचना निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । हालसम्म ४६४ पालिकामा अधिवेशन सम्पन्न भइसकेको उहाँको प्रतिवेदनमा उल्लेख छ । दुवैजनाको प्रतिवेदनमाथि सातवटा समूह बनाएर छलफल जारी रहेको छ । आज शनिबार तीनवटा प्रतिवेदनमाथि छलफल हुनेछ । जसमा उपसभापति स्वर्णिम वाग्लेको चुनावी बाचापत्र, सहमहामन्त्री विपिन आचार्यको उम्मेदवार छनोटसम्बन्धी प्रतिवेदन र रास्वपा सभापतिको रिहाइका लागि संकलन गरिएको हस्ताक्षरसम्बन्धी प्रतिवेदन पेश हुनेछ । ती प्रतिवेदनमा सामूहिक छलफलसँगै आगामी कार्यदिशासहित विस्तारित बैठक सकिने महामन्त्री बुर्लाकोटीलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा देशभरका ५१२ जना प्रतिनिधि सहभागी भएका छन् । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरुको उपस्थिति रहेको छ ।