काठमाडौं, १६ साउन । चितवनमा स्क्रब टाइफस संक्रमण बढ्दो अवस्थामा रहेको थाहा भएको छ । रोगका लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अंगहरु प्रभावित हुने, तथा कीराले टोकेको स्थानमा रातो दाग देखिने र पछि कालो दाग बस्न सक्ने चिकित्सकहरुको भनाई छ । प्राप्त समाचारअनुसार चितवनमा गत आर्थिक बर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एकहजार ५५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्युभएको पुष्टि भएको छ । संक्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन् । भरतपुर महानगरपालिकामा ८० पुरुष र १३४ महिला, खैरहनी नगरपालिकामा २२ पुरुष र ४८ महिला, माडी नगरपालिकामा छ पुरुष र पाँच महिला, रत्ननगरमा ५३ पुरुष र ७७ महिला, राप्तीमा २४ पुरुष र ३३ महिला, कालिका नगरपालिकामा २२ पुरुष र ३१ महिला र इच्छाकामना गाउँपालिकामा १० पुरुष र १४ महिला संक्रमित देखिएका छन् । अन्य जिल्लाबाट आएका बिरामीमध्ये १७८ पुरुष र ३१८ महिला रहेका छन् ।
गत आर्थिक बर्षमा कूल सात हजार ९५ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना फैलाउनुका साथै समयमै उपचार गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सरसफाइमा विशेष ध्यानदिन, झाडी क्षेत्रबाट बच्न र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्कगर्न आग्रह गर्नुभएको छ । उहाँले यही साउनमा मात्रै ४७८ जनाको परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । तीमध्ये केही जिल्लाभित्र कै र केही अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन् । खासगरी वर्खाको समयमा यो रोगको संक्रमण बढी हुने उहाँले बताउनुभयो । उहाँले पानी परेपछि मुसाहरु घर, गोठ वा ओवानोमा पस्ने गर्छन् । त्यसक्रममा तिनको शरीरमा रहेका किर्ना खसेर मानिसलाई टोकेमा संक्रमण हुने सम्भावना हुन्छ भन्नुभयो । उहाँले अघिल्लो आर्थिक बर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचार गरिएका तीन हजार ८०० जनाको परीक्षणमा ५५२ जनामा स्क्रब टाइफस संक्रमण देखिएको जानकारी दिनुभएको छ । चितवनमा स्क्रब टाइफसको पहिलो रिपोर्टिङ ०७२ सालमा भएको थियो ।
भेक्टर कन्ट्रोल निरीक्षक केसीका अनुसार परीक्षणको दायरा विस्तार हुँदैजाँदा संक्रमितको संख्या बढ्दैगएको छ । आर्थिक बर्ष ०७६÷७७ मा एक हजार ५१६ जनाको परीक्षणगर्दा १२७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टिभएको थियो । त्यसैगरी ०७७÷७८ मा दुई हजार २९० जनामध्ये ३१८ जना, ०७८÷७९ मा तीन हजार २८६ परीक्षणमध्ये २६८ जना र आर्थिक बर्ष ०७९÷८० मा तीह जार ४६१ जनाको परीक्षणमा ५०३ जनामा संक्रमण देखिएको थियो । स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । केसीका अनुसार स्क्रब टाइफस ओरेन्टिया सुसुगामुशी नामक जीवाणुबाट लाग्ने हो । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, वा घर वरिपरिको फोहर क्षेत्रमा पाइन्छ । रोग नियन्त्रणका लागि उहाँले खेतबारी, वनजंगल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भुइँमा सुत्न वा बस्न नहुने सुझाव दिनुभएको छ । मुसा नियन्त्रणका लागि अन्न भण्डारण सही ढंगले गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।