काठमाडौं, २७ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश संकटमा पर्दैगएको बताउँदै जनतालाई जाग्न आग्रह गर्नुभएको छ । अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको हिजो चितवनमा उद्घाटनगर्दै अध्यक्ष केसीले उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा उहाँले देशमा विदेशी चलखेल बढेकोभन्दै जनता जाग्ने समय आएको बताउनुभएको थियो । अहिलेको अवस्थामा नेपालको रक्षाका लागि नेपाली जनता एक हुन आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले नेताहरु स्वच्छ र इमान्दार नभएका कारण यो समस्या आएको हो । नेताहरुमा जनताको चिन्ताभन्दा अघिपछि हिँड्नेको चिन्ताहुँदा अहिले पछिल्लो आन्दोलन भएको हो भन्नुभएको थियो । सो कार्यक्रममा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले पनि सम्बोधन गर्नुभएको थियो ।

अखिल नेपाल जनजाति सम्मेलनको पाँचाँै महाधिवेशनलाई उहाँले चितवनको नारायणगढमा सम्बोधन गर्नुभएको हो । त्यसक्रममा महामन्त्री सिंहले जेनजी आन्दोलनले स्वार्थरत राजनीतिक दलहरुलाई फाइदा पुगेको बताउनु भएको थियो । उहाँले जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्ध भएपनि उग्र हुनुभनेको स्वार्थका लागि खेल खेलिएको आफूले महशुस गरेको बताउनुभएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव शालिकराम सापकोटालगायतले वर्तमान राजनीतिक परिवेशमा पार्टी र जनवर्गीय संगठनले खेल्नुपर्ने भूमिकाबारे आआफ्नो धारणा राख्नुभएको थियो । महाधिवेशन आज सोमबारसम्म चल्ने र सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।