काठमाडौं, ५ पुस । झुटो शेयर कारोबार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने दीपेन्द्र अग्रवाल रहेका छन् । अनुसन्धानमा ४९ लाख बढीको शेयरमा झुटो कारोबार गरेको पाइएपछि पक्राउ अनुमतिलिई उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी दीपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिदगरी धितोपत्रसम्बन्धी ऐन–०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेको पाइएको छ ।
उनले उच्च मूल्यमा शेयर बिक्रीगरी करिब ४९ लाख १९ हजार ८६५ कानून विपरीत नाफा आर्जन गरेको पाइएको सिआइबीले जनाएको छ । अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिदबिक्री तथा आफन्त÷सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिनेगरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिमरुपमा बढाएको देखिएको सिआइबीले जनाएको छ । धितोपत्रसम्बन्धी ऐन–०६३ को दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावितगर्ने कसुर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अग्रवाललाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
अग्रवाललाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्तगरी खोजतलासका क्रममा काठमाडौं महानगरपालिका ४ चुनदेवीबाट पक्राउगरी थप अनुसन्धान कार्य भइरहेको सिआइबीले जनाएको छ । रासस