तस्वीर रासस
काठमाडौं, १२ पुस । प्रधानमन्त्री सुशीला कार्कीले ठूलै भूकम्प वा आँधीतुफान आएमात्र चुनाव रोकिन सक्ने अन्यथा आगामी फागुन २१ मा चुनाव भएरै छाड्ने बताउनु भएको छ । उहाँले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा हिजो प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेखगर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभएको हो । उहाँले चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान् । विचारमा विविधता हुनु र आफ्ना विचारको पैरवीगर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ भन्नुभएको थियो ।

निर्वाचनको पक्षमा पनि अहिले सबै यसैगरी एक ठाउँमा उभिने बेला आएको उहाँले बताउनुभएको थियो । उहाँले विषम परिस्थितिमा हामी सबै सम्हालिएर अगाडि बढ्नुपर्नेछ । सबैको विचार एउटै हुँदैन । मेरो विचारमात्र ठिकभन्नु पनि लोकतन्त्रसम्मत हुँदैन । आफ्ना विचार जनतामा लिएर र जनताबाट अनुमोदित भएर आउने अवसर निर्वाचन हो । त्यसैले निर्वाचनलाई सफल पारौँ । देशलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन तपाईँहरु सबै एक ठाउँमा आउनुपर्छ भन्नुभयो । उहाँले चुनाव सफल बनाउन सरकार आफ्नोतर्फबाट सम्पूर्णरुपले तयारी गरिरहेको जानकारीदिँदै सुरक्षाका सवालमा पनि शंका नगर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री कार्कीले तपाई हामी सबै एक ठाउँमा हुने होभने कसैले केहीगर्न सक्दैन । हतियार, कैदी धेरै फिर्ता भइसकेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि स्रोतसाधन उपलब्ध गराइसकिएको छ । निर्वाचनका लागि छुट्टै प्रहरी भर्तीको प्रक्रिया अघि बढेको छ ।

ठूलै भूकम्प वा आँधीतुफान आएमात्र चुनाव रोकिएला । नत्र फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन । तपाईँहरु पनि तयारी गर्नुहोस् भन्नुभएको थियो । कुनै विषयमा मत–मतान्तर र छलफल हुनु सामान्य भए पनि देशले ठूलो क्षति बेहोरिसक्दा पनि आत्मसमीक्षा नगर्ने प्रवृत्तिबाट भने आफू आश्चर्यचकित भएको उहाँको भनाइ थियो । नागरिक बचाउ दल, नेपालकातर्फबाट अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष पाँच सूत्रीय ज्ञापनपत्र पनि बुझाउनुभएको थियो ।