तस्वीर रासस
काठमाडौं, १३ कातिक । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा हिजो बालुवाटारमा भएको त्रिपक्षीय बैठकमा बिवाद भएको थाहा भएको छ । जसमा जेनजीका प्रतिनिधिले जसरी पनि आगामी फागुन २१ गते निर्वाचन हुनुपर्ने भनेका थिएभने दलका प्रतिनिधिहरुले शान्ति सुरक्षा र दलीय सहभागिताको प्रश्न उठाएका थिए । बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको भनिएको छ । बैठकका विषयमा जानकारीदिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरुबीच पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरुबीच छलफल भएको र यस किसिमको छलफललाई निरन्तरता दिइने समझदारी भएको बताउनुभएको थियो । सञ्चारमन्त्री खरेलले यो बैठक औपचारिकरुपमा सरकारकोतर्फबाट पहिलो पटक आयोजना भएको हो । असाध्यै सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ भन्नुभएको थियो । बैठकमा प्रधानमन्त्री कार्कीले त्रिपक्षीय छलफल शुरुवात भएको र यसलाई निरन्तरता दिइने बताउनुभएको थियो ।

उहाँले मुलुक बनाउने अभिभारा सबैको रहेकोभन्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । सञ्चारमन्त्री खरेलकाअनुसार बैठकको मुख्य उद्देश्य, निर्वाचन, सुशासन कायम, भ्रष्टाचार नियन्त्रणका साथै जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाउने सन्दर्भ रहेको थियो । त्यसमा पनि विशेषगरी निर्वाचनका विषयलाई अलि बढी लक्षित गरेर सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल भई आपसी समझदारी कायम गरेर अबको बाटो कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे सकारात्मक छलफल भएको छ । जेनजी प्रतिनिधिहरुले उठाएको मुद्धाहरुलाई राज्यले कसरी प्राथमिकता दिएर कार्यान्वयन अगाडि बढाउने भन्नेबारे गहन छलफल भएको छ । उपस्थित राजनीतिक दलका सबै प्रतिनिधि र जेनजी प्रतिनिधिले सकारात्मकरुपमा लिएको र यसले मुलुक अब सहज रुपमा अगाडि बढ्ने सरकारको विश्वास छ । सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री खरेलले वार्तामा सहभागी सबै राजनीतिक दलहरुले निर्वाचनप्रति सकारात्मक धारणा राख्नुभएको थियो । निर्वाचनको वातावरणका लागि सुरक्षा र श्रोतसाधनलगायतका प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको थियो । बैठकमा राजनीतिक दलका करिब १५ जना र सोही संख्यामा जेनजी प्रतिनिधिहरुको सहभागिता थियो ।

जेनजीका प्रतिनिधिहरुले जेनजी आन्दोलनको क्रममा जेजस्ता माग उठेका छन् । सोहीअनुरुप मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोडदिएका थिए । उनीहरुले निर्वाचनकोसमेत समर्थनगर्दै निर्वाचन गर्दैगर्दा सुशासनको सुनिशिचतता र भ्रष्टाचार नियन्त्रलाई पनि सँगै लैजानुपर्ने धारणा राखेका थिए । राजनीतिक दलहरुलाई अझै बढी जिम्मेवार बन्नुपर्छ भन्ने कुरा जेनजीले उठाएका थिए । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघनरुपमा वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गरेको हो । यसअघि गत चारगते पनि सरकार र राजनीतिक दलहरुबीच छलफल भएको थियो ।