तस्वीर रासस
काठमाडौं, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदानगर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । आज भक्रपुरको गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारीदिदै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री खरेलले सरकार तोकिएकै दिन निर्वाचन गराउन पूर्णरुपमा तयारी गरेको छ । निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थापन सुदृढ बनाउने छ । निर्वाचनको सबै तयारी तीव्र रुपमा भइरहेको सन्दर्भमा निर्वाचनकै विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आज छलफल भयो ।

सरकार निर्वाचनको वातावरण बनाउन प्रतिबद्ध छ भन्नुभयो । अध्यक्ष ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले सुरक्षालगायत सबै वातावरण सहज बनाउनुपर्नेमा जोड दिनुभएको मन्त्री खरेलले जानकारी दिनुभयो । अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारीदिदै राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने र मतदातालाई निर्धक्क भएर मतदान गर्न सक्नेगरी सुरक्षा व्यवस्थागर्न सरकार प्रतिबद्ध रहेको उहाँलाई अवगत गराएको बताउनुभयो । सरकारले निर्वाचनको वातावरण बनाएकाले ढुक्कसँग चुनावमा सहभागी हुन आफूले आग्रह गरेको जानकारीदिँदै मन्त्री खरेलले एमाले चुनावको पक्षमा छ, एमाले निर्वाचनबाट भाग्दैन भन्नुभएको छ, सुरक्षा चुनौती छ, वातावरण बनाउनुप¥यो भन्ने जुन कुरा उहाँले राख्नुभयो ती सबै सरकारले सम्बोधन गर्छ ।

सरकारले चुनावको वातावरण बनाउछ भन्नुभयो । एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हदबारे पुनर्विचार गर्ने कुरामा पनि सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो । सञ्चारमन्त्री खरेलले सरकारको लक्ष्यनै निर्वाचन भएकाले यो लक्ष्य प्राप्तिको लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौतीहरु भए त्यसलाई सहज बनाउँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको थियो । सञ्चारमन्त्री खरेलले आजै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरिसक्नु भएको छ ।