काठमाडौं,३१ जेठ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र उहाँका समकालीन नेता सिद्धिलाल श्रेष्ठबीच भेटघाट भएको थाहा भएको छ । काठमाडौंको शंखमूलस्थित श्रेष्ठको निवासस्थान गत बिहीबार उहाँहरुमाझ भेटघाट भएको नेकपा मसालले जनाएको छ । तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध १२ बर्ष जेलजीवन बितानुभएका श्रेष्ठ र सिंहबीच पहिलो भेटघाट काठमाडौंको सेन्ट्रल जेलमा भएको थियो । दरभंगा प्लेनमदेखि चौथो महाधिवेशनको केन्द्रीय न्युक्लससम्म उहाँहरुबीच सहकार्य भएको थियो । चौथो महाधिवेशनमा पार्टी विभाजित भएपछि श्रेष्ठ पुष्पलालतिर लाग्नुभएको थियो । ०२८ सालपछि पाटन कम्युनिष्ट गतिविधिको केन्द्र बन्न पुगेको थियो । मोहनविक्रम सिंह प्रायः पाटनमै बस्नुहुन्थ्यो ।

त्यसक्रममा सिद्धिलाल श्रेष्ठ, दिलबहादुर श्रेष्ठ र रामबहादुर श्रेष्ठलगायतका जुझारु नेताहरुसित भेटघाट भइरहन्थ्यो । उहाँहरुसँग पनि मोहनविक्रम सिंहको सहकार्य हुन्थ्यो । सिद्धिलाल श्रेष्ठ ०४८ साल र ०५१ सालमा ललितपुरबाट सांसदमा निर्वाचित समेत हुनुभउको थियो । ०५२ सालमा मनमोहन अधिकारीको मन्त्रिपरिषदमा उहाँ सामान्य प्रशासनमन्त्री समेत बन्नुभएको थियो त्यसैगरी ०६४ सालको संविधानसभा चुनावमा उहाँ समानुपातिक तर्फबाट सांसदमा चयन हुनुभएको थियो । लामो समयपछि भेट भएकोमा श्रेष्ठले अत्यन्तै खुसी व्यक्तगर्दै मोहनविक्रमको स्वास्थ्य युवाकोजस्तो रहेको अभिव्यक्ति दिनुभएको थियो । उक्त भेटमा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसी र दीपेन्द्र श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । मसालका महामन्त्रि सिंहले पछिल्ला दिनमा पुराना कम्युनिष्ट नेताहरुसँगको भेटलाई तीब्र बनाउनु भएको छ ।