
काठमाडौं, १३ पुस । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सरकारको दमनकारी श्वेत आतंकबिरुद्ध संघर्षको उद्घोष गरिएको जनाएको छ । सो पार्टीको हिजो शनिबार बिहान बसेको स्थायी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रबक्ता खड्गबहादुर बिश्वकर्माले बताउनु भएको छ । गत ११ गते प्रहरीले अर्घाखाची सितगडगा–११ मा अवस्थित कम्युन र सर्वसाधारण जनताको घरमा प्रहरीले छापामारेर श्वेतआतंक मच्चाएपछि हिजो शनिबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को स्थायी समितिको बैठकले संघर्षका कार्यक्रमको तय गरेको उहाँको भनाई छ । प्रबक्ता बिश्वकर्माले जारी गर्नुभएको बिज्ञप्तिका अनुसार संघर्षका कार्यक्रम अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आज पुस १३ गते देशब्यापीरुपमा कोणसभा , पुस १४ गते देशव्यापीरुपमा बिरोध सभा र पुस १५ गते सरकारको दमनकारी श्वेत आतंकबिरुद्ध काठमाडौंमा अन्तरक्रिया गर्ने जनाएको छ ।
देश र जनताको पक्षमा खडा भएकै कारण बिगतमा दुई बर्षसम्म प्रतिबन्ध खेपेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने तयारी गरिरहेको समयमा निर्वाचनमा भाग लिन नदिने र पुनः द्वन्दमा धकेल्ने मनशायकासाथ गरिएको प्रहरी अपरेशन आफैमा निन्दनीय छ । बिज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)माथि गरिएको यो सरकारी रबैयाले सरकार आफै शान्ति सुरक्षा खल्बल्याउन चाहन्छ र चुनाव गराउन चाहदैन भन्ने पुष्टि हुन्छ भनिएको छ ।