काठमाडौं,२४ मंसिर । नेपालगञ्जको नगरबस पाँच बर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको थाहा भएको छ । प्राप्त समाचारअनुसार पाँच बर्षदेखि सञ्चालनमा आएको नेपालगञ्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् । वार्षिक करिब एक करोड ठेक्कामा लगाइको ती नगरबसको आम्दानी तथा खर्च पारदर्शी नभएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको गत कात्तिकमा बसेको कार्यपालिकाको बैठकले नगरबस व्यवस्थापनका लागि वडानं चारका अध्यक्ष गोपाल पुनको संयोजकत्वमा छ सदस्यीय नगरबस व्यवस्थापन अध्ययन समिति गठन गरेको थियो । यसैबीच नगरबस सञ्चालनका विषयमा अदालतमासमेत मुद्धा परेको बताइएको छ । सो नगरबस प्रयोगविहीन भएपछि आवश्यक व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिनुभएको छ । उहाँले अहिले हामीले त्यसको अध्ययनका लागि समिति गठन गरेका छौँ, समितिको प्रतिवेदनपछि विस्तृत जानकारी आएपछि आवश्यक व्यवस्था गरिने बताउनु भएको छ ।

नगरबस सञ्चालनका लागि उपमहानगरपालिकाले आर्थिक बर्ष ०७५÷७६ मा चारथान ४१ सिटे र तीन थान ३६ सिटे नगर बस तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिदगरेको थियो । केही समय चलेपनि आर्थिक पक्षसहित व्यवस्थापनमा समस्या देखिएपछि नगरबस सञ्चालन हुननसकेको बताइएको छ । उपमहानगरपालिकाले नगरबस सञ्चालनगर्न नसकेपछि बस सञ्चालनका लागि बोलपत्र आह्वानगरी ठेक्कामा लगाएको थियो । तर, ठेकेदारले समेत नियमितरुपमा बस सञ्चालनगर्न नसकेपछि वर्षौंदेखि नगरबस बसपार्कमा थन्क्याइएको नेपालगञ्ज उपमहानगरपालिका–६ का वडाध्यक्ष समीरप्रताप सिंहले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बसपार्कमा थन्किएका बसको अवस्था, कानुनी मुद्धा र त्यसको प्रयोगको अवस्थाबारे अध्धयनगरी आगामी कार्यपालिका बैठकमा प्रतिवेदन पेस गर्न १५ दिनको समय तोकिएको जानकारीदिँदै अध्ययन समितिको प्रतिवेदनपछि मात्रै सबै विषय आउने स्पष्ट गर्नुभयो । वडाध्यक्ष रिजालले बरु थप बजेट विनियोजन गरेर भएपनि जुन उद्देश्यले बस खरिद गरिएको हो सोहीबमोजिम सञ्चालनगर्न उचित हुन्छ भन्नुभयो ।

उपमहानगरपालिकाको सामाजिक विकास शाखा प्रमुख कृष्ण जोशीले पाँचबर्षसम्म सञ्चालन भएको नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेको जानकारीदिँदै नगरबस र बसपार्क एकीकृतरुपमा ठेक्का लगाइ पनि सिर्जित समस्याका कारण बस सञ्चालन हुन नसकेको बताउनुभएको छ ।