काठमाडौं, १३ पुस । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरद्वारा हिजो आयोजित नसर्ने रोगको न्यूनीकरणका लागि खानेपानीमा सुधारसम्बन्धी जनचेतनामूलक कार्यक्रममा करिब ७१ प्रतिशतमा नसर्ने रोग देखिने गरेको जानकारी दिइएको हो । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा विपिनकुमार झाद्वारा प्रस्तुत विवरणअनुसार नसर्ने रोगका बिरामीको संख्या दिनप्रतिदिन बढ्दैगएको छ । अहिले सर्नेभन्दा बढी नसर्ने रोगका बिरामी बढ्दै गएका उहाँले बताउनुभयो । नसर्नेमा मुख्यगरी मुटु रोग, मधुमेह, क्यान्सर, तथा दीर्घ श्वासप्रश्वासका बिरामी रहेका डा झाले जानकारी दिनुभएको थियो । उहाँले करिब ३० वर्ष अघि विश्व स्वास्थ्य संगठनले नसर्ने रोगको समस्या जटिल हुने भएकाले त्यसबाट सचेत र सुरक्षित रहन आग्रह गरेको थियो ।
नसर्ने रोगको मुख्य कारण मिसावटयुक्त अखाद्य प्रदार्थको प्रयोग, प्रदूषित हावापानी तथा जथाभावी खानपिन, शारीरिक रुपमा निष्क्रिय दैनिकीलगायत रहेकाले त्यसबाट सुरक्षित रहन जीवनशैली र खानपिनको बानीमा सुधार ल्याउनुपर्नेमा डा झाले जोड दिनुभएको थियो । मधेस प्रदेशमा पनि उक्त समस्या बढ्दै गएको उहाँको भनाइ छ । कार्यक्रममा जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले स्वास्थ्य समस्या समाधानका लागि सरकारी तथा गैरसकारी निकाय हातोमालो गरेर अगाडि बढनुपर्नेमा जोडदिँदै बजेट कटौतीले आफ्नो कार्यालयले गुणस्तरीय सेवा दिन नसकेको बताउनु भएको थियो । अहिले हृदयघात, मोटोपन, थाइराइड, महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर, कलेजोको क्यान्सर, उच्च रक्तचापलगायत बिरामी अत्यधिक रहेकाले स्वास्थ्य सतर्कता अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
आर्युवेद अस्पताल धनुषाका प्रमुख डा रुद्रनारायण ठाकुरले नसर्ने रोगको उपचार तथा नियन्त्रणका लागि आर्युवेद औषधिको प्रयोगसँगै योग र ध्यान प्रभावकारी बन्ने धारणा राख्नुभयो । आयुर्वेदमा जटिलभन्दा जटिल रोगको प्रभावकारी उपचार क्षमता विकास हुँदैगएको उहाँको भनाइ थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरका प्रमुख विमल दाहालले स्वस्थ जीवनका लागि स्वच्छ र गुणस्तरीय खानपिन आवश्यक रहेको उल्लेखगर्दै कार्यालयले खाद्य स्वच्छताका साथै न्यूनगुणस्तरीय खाद्यान्न उत्पादन तथा बिक्रीवितरण रोक्न नियमित अनुगमन तथा त्यस्ता वस्तुको प्रयोशालामा परीक्षण गरिरहेको जानकारी दिनुभएको थियो ।