काठमाडौं,२८ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको भविष्य सुरक्षितगर्न जनता जाग्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको बुटवलमा हिजो आयोजना गरेको विरोधसभालाई सम्बोधनगर्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा अध्यक्ष केसीले मुलुक आजको जटिल अवस्थासम्म आइपुग्नुमा नेपाली कांग्रेस, नेकपा (एमाले), तत्कालीन माओवादी केन्द्रजस्ता ठूला पार्टी जिम्मेवार रहेको आरोप लगाउनुभएको थियो ।

एक फरक प्रशंगमा उहाँले देशमा अमेरिकी साम्राज्यवाद र विदेशी हस्तक्षेप पनि गम्भीर स्थिति रहेको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले यदि नेपाली जनता समयमै सचेत नभए देशमा विदेशीहरुको शासन स्थापित हुने अवस्था रहेको पनि बताउनु भएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सल्लाहकार तथा तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल किसान महासंघ (अप्फा) का नेता चन्द्रबहादुर केसी, अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, राजमो लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष गणेश गौतम, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थलगायतले मन्तव्य राख्नुभएको थियो ।

राजमो रुपन्देहीका कावा अध्यक्ष इन्दिरा उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन गंगालाल सापकोटाले तथा स्वागत मन्तव्य लालबहादुर क्षेत्रीले राख्नुभएको राजमोले जनाएको छ ।