
काठमाडौं,९ चैत । नेपाली कांग्रेसका दुई समूहले समानान्तर गतिविधि थालेका छन् । विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको छभने । शेरबहादुर देउवा पक्षले आफू पार्टीको आधिकारिक समूह भएको दाबीगर्दै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । देउवा पक्षको सहभागिताबिनै विशेष महाधिवेशन गरेर थापाको नेतृत्वमा गठित कार्यसमितिको हिजो आइतबार बैठक बसेको थियो । चुनावमा पार्टीको शर्मनाक हार भएकोभन्दै सभापति थापाले पदबाट दिएको राजीनामालाई बैठकले अस्वीकृतगर्ने निर्णय गरेको थियो । यद्यपि, चुनावमा भएको हारको नैतिक जिम्मेवारीलिँदै पदबाट राजीनामा दिएका थापा स्वयं भने बैठकमा सहभागी हुनु भएको थिएन । बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्नुभएको थियो । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा हिजै अर्को बैठक बसेको थियो ।
उक्त बैठकले पुरानो केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा नेताहरु खड्का, डा.शेखर कोइराला, डा.शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा.प्रकाशशरण महत, डा.मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो । बैठकले केन्द्रीय समितिको मिति तोक्ने जिम्मेवारी कार्यवहाक सभापति खड्कालाई दिएको छ । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय भएको छ बताइएको छ । नेता मीन विश्वकर्माका अनुसार गत फागुन २१ को निर्वाचनमा पार्टीको हारमा कारणहरुमाथि छलफलगर्न बैठक बोलाउन लागिएको हो ।
त्यसैगरी सो पार्टीका सहमहामन्त्री जीवन परियारले कार्यवहाक सभापति खड्काको सभापतित्वमा भएको बैठकमा समसामयिक विषयमा छलफल भएको बताउनुभएको छ । देउवा पक्षले तत्कालीन महामन्त्रीद्वय थापा र शर्मालाई यसअघि नै कारबाही गरेको थियो । कांग्रेसको आधिकारिता बारेको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले मुद्धाको पेसी यही चैत २२ गतेलाई तोकेको छ । देउवा पक्षले चुनाव सकिएको भन्दै अन्तिम फैसला नआए पनि समानान्तर गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ ।