काठमाडौं,५ असोज । लोक नारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले बृहत् बाम एकतामा जोड दिएको छ । सो पार्टीले हिजो काठमाडौंको संवाद डबलीमा आयोजना गरेको ‘क्रान्तिकारी कम्युनिष्ट एकता आजको राष्ट्रिय आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुले परम्परागत शैलीलाई परिवर्तन गर्नुपनर्पे अवस्था आएको बताउनुभएको थियो । उहाँले देश र जनताले नेपालका क्रान्तिकारीहरु एकभएको हेर्न चाहेको र वर्तमान आवश्यकता पनि त्यही भएकोले आफूहरुले साझा एजेण्डा बनाएर एकतालाई अगाडि बढाउनुपर्ने धारणा राख्नु भएको थियो ।

त्यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका बरिष्ठ नेता रामसिंह श्रीसले देशमा क्रान्तिकारीहरुबीचको एकता अत्यावश्यक भएपनि सबै अटाउने साँझा कार्यक्रम आभाव रहेको बताउनु भएको थियो । उहाँले कतिपय अवस्थमा कार्यक्रम नमिल्दा पनि भावनामा बगेर एकता हुने र कतिपय बेला कार्यक्रम साझाहुँदा पनि एकता नहुनुले देशमा क्रान्तिकारी शक्ति कमजोर भएको बताउनु भयो । त्यसैगरी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका कार्यालय सदस्य जाग्रित रायमाझीले क्रान्तिकारी कम्युनिष्टहरुबीच एकता अत्यावश्यक भएपनि नेताहरुको निजी स्वार्थले त्यसलाई रोक्नेगरेको बताउनु भएको थियो । उहाँले नेपालका कम्युनिष्टलाई कमजोर बन्नुमा नेताहरु जिम्मेवार रहेको बताउँदै बिभिन्न समयमा केपी ओलीको अहंकार र पुष्पकमल दाहालको घमण्डले क्रान्तिकारी कम्युनिष्टहरुलाई थप कमजोर बनाएको बताउनु भएको थियो । रायमाझीले पूँजीवादी भूमण्डलीकरणले विश्वका कम्युनिष्टहरु कदमकदमा अबरोध गरेको सन्दर्भमा विज्ञान र प्रविधिलाई उत्पादनमा जोड्ने र सोहीअनुसार कम्युनिष्टहरुले आफूलाई परिमार्जित गरेमात्रै देश परिवर्तन हुने बताउनु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणप्रसाद शर्माले कम्युनिष्टहरुबीच एकताको मुख्य बाधक भनेको नीतिभन्दा नेतृत्व प्रधानता भएको बताउनुभएको थियो । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले पछिल्लो समयमा क्रान्तिकारीहरुबीच एकता जरुरी रहेको बताउनु भएको थियो । माक्र्सवादी एकता समाजका संयोजक श्रीकान्त पण्डित, नेकपा (बहुमत) का कार्यालय सदस्य कृष्ण धमला, माक्र्सवादी महासचिव युवराज काफ्ले, नेकपा कार्यालय सदस्य इन्दिरा अधिकारी, समाजवादी कम्युनिष्ट पार्टीका कार्यालय सदस्य आशोक सुवेदी, नेकपा नेता शरणविक्रम मल्ल, स्वतन्त्र बाम बुद्धिजीवी भूमिनन्द देबकोटा, डाइलेक्टीकल सोसाइटीका संयोजक विनोद लोहनी, नेकपा सचिवालय सदस्य पुस्कर गौतम र महादिप पोखरेलले परम्परागतभन्दा नयाँ तरिकाले कम्युनिष्टले एकतागरि क्रान्तिमा जुट्नुपर्ने धारणा राख्नुभएको थियो ।