काठमाडौं,३० साउन । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्धा तोक्ने निर्णय सच्याउन माग गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उपरोक्त कुरा उल्लेख छ ।

उहाँले बक्तब्यमा संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्धा तोक्ने निर्णय तत्काल सच्याउन माग गरिएको जनाउनु भएको छ । विज्ञप्तिमा खुला इजलाससमक्ष विचाराधीन मुद्धा पेसीका दिन बहस, छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुंगो लगाउने परम्परा र अभ्यास रहिआएकामा टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्त्वको मुद्धा संवैधानिक इजलासमा सार्नु संवैधानिक मूल्यमान्यता अनुसार छैन भनिएको छ ।