काठमाडौं, ३१ साउन । पहिरोले त्रिभुवन राजपथ अवरुद्ध भएको छभने खुलाउने प्रयास जारी रहेको बताइएको छ । त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण आज शनिबार बिहानैबाट अवरुद्ध भएको हो । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी–९ लामिडाँडास्थित सडकखण्डमा माथिबाट ढुंगासहित रुखहरु खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक अवरुद्ध भएपछि प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी सडक खुलाउने कार्य भइरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पहिरो झरेको स्थानमा ठुला ढुंगा खसेका कारण दुईवटा डोजर पुगेपनि पन्छाउन नसकेपछि ब्रेकर प्रयोग गर्नुपर्ने अवस्था आएको छ । उहाँले ढुंगा फुटाउन ब्रेकर लैजाने कार्य भइरहेको र सडक सुचारुगर्न समय लाग्ने बताउनुभएको छ ।