इस्लामाबाद, २१ असोज । पाकिस्तानमा विगत तीन महिनामा आतंकवाद विरोधी अभियान तीब्र बनाइएको छभने प्रतिकारस्वरुप आङ्ंकवादी आक्रमणमा पनि वृद्धि भएको इस्लामाबादस्थित एक प्रवुद्ध समूहले बताएको छ । सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सिआरएसएस) ले अघिल्लो तीनमहिनाको तुलनामा नागरिक, सुरक्षाकर्मी र लडाकूसहितको मृत्युदरमा ४६ प्रतिशतले वृद्धि भएको जनाएको छ । यो वर्ष हिंसाको अवस्था सन् २०२४ भन्दा बढी घातक हुने बाटोमा छ । यो बर्ष एक दशकको सबैभन्दा बढी हिंसात्मक वर्ष बनेको छ । पाकिस्तानको सेनाले आफ्नो पश्चिमी सीमामा आतंकवादी समूहहरुसँग लडिरहेको छ, उत्तरपश्चिममा पाकिस्तानी तालिबान सक्रिय छ र दक्षिणपश्चिममा बलुच पृथकतावादी समूहहरु अधिकांश आक्रमणहरुमा सहभागी भएका छन् । सिआरएसएसले भनेको छ–यो वृद्धिले उग्रवादी हिंसाको तीव्रता र आतंकवादविरुद्धको कारबाहीको विस्तारित मात्रालाई प्रतिबिम्बित गर्दछ । सन् २०२१ मा छिमेकी अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता भएयता आक्रमणहरु बढेका छन्, पाकिस्तान सरकारले अफगान तालिबान अधिकारीहरुलाई आतंककारीहरुलाई आश्रय दिएको आरोप लगाएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा लडाकू समूहका लागि ‘आश्रय दिने वातावरण’ बढेको भन्दै आतंकवादलाई परास्तगर्न सहयोग गर्न आग्रह गरेको छ । पाकिस्तानी सरकारी अधिकारीहरुले नाम नबताउने शर्तमा सेप्टेम्बरमा एएफपीसँग भनेका थिए–हालैका महिनाहरुमा पाकिस्तानी तालिबान लडाकूहरुको उपस्थिति बढेको छ । सोही महिना विपक्षी सांसदहरुले पाकिस्तानी सेनाले बालबालिकाको हत्यागर्ने आतंककारी लुकेका स्थानहरुमा हवाई आक्रमण गरेको आरोप लगाएका थिए । सेनालेभने कुनै प्रतिक्रिया दिएको छैन । व्यापक आतंकवाद विरोधी अभियानहरुले नागरिकहरुलाई हानि पुर्याउने जोखिम रहेको स्थानीय गाउँ परिषद्हरुले बारम्बार चेतावनी दिएका छन् । प्रवुद्ध समूहका अनुसार सन् २०२५ को पहिलो नौ महिनामा दुईहजार ४१४ जनाको मृत्युभएको थियो र यो सन् २०२४ मा रिपोर्ट गरिएको दुई हजार ५४६ मृत्यु संख्याको नजिक हो । रासस,एएफपी