तस्वीर रासस
काठमाडौं,२७ कातिक । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक क्षेत्रमा अपराधीकण, व्यापारीकरण, दलालीकरण, ठेकेदारीकण र भ्रष्टीकरणको समस्या रहेको बताउनुभएको छ । नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको संगठनात्मक एकीकरणसभालाई हिजो सम्बोधनगदै उपरोक्त कुरा बताउनुभएको हो । उहाँले देशमा सुधार ल्याउने हुटहुटी पूरागर्न आवश्यक संकल्प लिएर अघि बढ्नुपर्ने बताउनुभएको तियो । सहसंयोजक नेपालले राजनीतिप्रति देखिएको जनताको वितृष्णाका बारेमा समीक्षा गर्नुपर्नेमा जोडदिँदै पार्टी र नेता तथा कार्यकर्ताभित्र झाङ्गिएको विकृति र विसंगति सुधारगरेर जानुपर्ने बताउनुभएको थियो । उहाँले विगत विर्सियौँभने पूरानै अवस्था दोहोरिन बेर लाग्दैन भन्नुभयो ।
नयाँ क्रान्तिकारी संकल्प बोकेको पार्टी निर्माणगर्ने अभियान शुरुभएको जानकारीदिँदै उहाँले आफूभित्रको कमजोरी सुधार्ने प्रतिबद्धता अहिलेको आवश्यकता भएको बताउनुभयो । सहसंयोजक नेपालले नेकपालाई क्रान्तिकारी चरित्र, देश र जनताप्रति इमान्दार र समर्पित भएका योद्धाको पार्टी बनाउनुपर्छ । परिवर्तन यत्तिकै हुनेवाला छैन, यो आफैँबाट शुरु गर्नुपर्छ । अनेक खालका भड्काउबाट मुक्त हुनुपर्छ । जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ भन्नुभयो । पार्टीभित्रको अनुशासन अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले आफूलाई लागेका कुरा कमिटीमा राख्नुपर्ने बताउनुभएको थियो ।