तस्वीर–रासस

काठमाडौँ, जेठ १९ गते । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी १९ दिने चीन भ्रमण पूरागरी आज सोमबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँ जेठ एकगते नेपाली प्रतिनिधि मण्डलको नेतृत्वगर्दै त्यसतर्फ जानुभएको थियो । उहाँको प्रतिनिधिमण्डलमा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी लगायत रहनुभएको थियो । स्वदेश फर्केपछि त्रिबि अन्तराष्ट्रिय बिमानस्थलमा समाचारदाताहरुसँग कुरागर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण फलदायी र उपलब्धिमूलक रहेको बताउनुभएको थियो ।

मन्त्री भण्डारीका अनुसार भ्रमणकाक्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । मन्त्री भण्डारीले भ्रमणकाक्रममा चीन–नेपालबिचको द्विपक्षीय सहयोग आदान–प्रदान, सांस्कृतिक सम्बन्ध, अर्थ कुटनीति लगायतका विषयमा छलफल भएको बताउनुभयो । उहाँले चीन र नेपालकाबीचमा विगतमा भएका समझ्दारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभएको थियो ।