काठमाडौँ । बिभिन्न दलसम्बद्ध पाँचवटा युवा संगठनहरुले प्रगतिशील परिवर्तनको रक्षागर्न माग गरेका छन् । विज्ञप्तिमा अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारी, नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, वाइसिएलका अध्यक्ष पुष्प ओली र युवा संघ नेपालका अध्यक्ष रोशन थापाको हस्ताक्षर रहेको छ । उनीहरुद्वारा जारी संयुक्त बक्तब्यमा अबको आगामी राजनीतिक यात्रा यसअघिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनको संरक्षण गरेर तयगरिनुपर्ने भनिएको छ । वक्तव्यमा हालैको आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना र सहानुभूति प्रकटगर्दै दोषीलाई कानुनअनुसार कारवाहीगर्न माग पनि गरिएको छ ।
प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि अवाञ्छित तत्त्वले विश्वंस, तोडफोड, हिंसा र लुटपाटका घटना घटाउने कार्य जारी रहेको बताउँदै वक्तव्यमा यसप्रति प्रशासनको ध्यान जानुपर्ने तथा घटना नियन्त्रणका लागि टोलटोलमा सुरक्षा समिति गठन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । अहिले मुलुकमा देखा परेको विषम परिस्थितिबारे सजग हुन युवाहरुलाई आग्रहगर्दै गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि दृढ र क्रियाशील हुन विज्ञप्तिमा आग्रह गरिएको छ ।
