काठमाडौं,२९ असोज । प्रतिनिधिसभाको विघटनविरुद्ध सर्वोच्च अदालतमा हिजो १० वटा रिट पेश भएको खुलाशा भएको छ । गत भदौ २४ गते भएको बिध्वंशका क्रममा सर्बोच्च अदालतमा समेत आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाट भएको थियो । त्यसपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो । हिजोदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन पेश भएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर एवं संसद पुनःस्थापनाका लागि उत्प्रेषण, परमादेशको मागगर्दै १० वटा रिट निवेदन पेश भएका छन् । पेस भएका रिट निवेदनहरु दर्ताका लागि अध्ययन भइरहेको छ ।

रिट निवेदन पेश गर्नेहरुमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, खडकबहादुर शाह, आभाष पोखरेल, आयुष भण्डारी, डम्बरप्रसाद शिवाकोटी, अनिल कार्की, अधिवक्ता दलबहादुर धामीसमेत रहनुभएको छ ।