काठमाडौं,२६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्बपक्षीय संयुक्त छलफल गराउने प्रयास गरिरहनु भएको थाहा भएको छ । उहाँले आज जारी गर्नुभएको आह्वानपछि नेकां, एमाले र माओवादी केन्द्रका नेताहरु छलफलमा जुट्नु भएको बताइएको छ । प्रमुख तीन दलले अलग अलग बक्तब्य प्रकाशित गरेर आआफ्ना धारणा पनि स्पष्ट गरिसकेका छन् । राष्ट्रपति पौडेलले एक प्रेस विज्ञप्ति जारीगर्दै मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायमगर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गर्नुभएको थियो । राष्ट्रपति पौडेलले मुलुकलाई सम्बोधन गर्नुपर्ने मागसहित सामाजिक सञ्जाल र काठमाडौं लगायत ठाउँमा प्रदर्शन हुनथालेपछि आज विज्ञप्ति जारी गर्नुभएको हो ।

उहाँले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधनगर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन पनि आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोगगर्न पनि अपिल गर्नुभएको छ । गत २३ र २४ गते बिभिन्न समूहको प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा परेर प्रदर्शनकारी र प्रहरीसहित गरी अहिलेसम्म ३० जनाको मृत्युभएको छ । जेनजीको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको थियो । अब आगामी साता संसदको बैठक बसेर नयाँ सरकार गठनका लागि प्रयास थाल्ने राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । संभवत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्रि बन्नुहुने छ ।