
काठमाडौं, २७ भदौ । प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय तोकिएर भुक्तान गरिरहेका कैदीलाई कारागारको सम्पर्कमा आउन तथा थुनुवालाई सम्बन्धित प्रहरी इकाइमा आउन अनुरोध गरिएको बताउनुभएको छ । प्रहरी महानिरीक्षकको कार्यालयले एक सूचना जारी गत २३ मा भएको प्रदर्शनपछि कारागार कार्यालय तोडफोड, आगजनीगरी फरार रहेका कैदीबन्दीलाई सम्बन्धित प्रहरी कार्यालयमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।
कार्यालयले जारी गरेको सूचनामा गत २३ गतेपछि देशभर भएको प्रदर्शनकाक्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाईहरु तथा कारागार कार्यालयहरुमा भएको तोडफोड, आगजनीपश्चात अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरु र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरु भागेकाले त्यस्ता अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, इकाईहरु वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरुमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरिएको भनिएको छ । प्रहरीकाअनुसार यसरी १४ हजारभन्दा बढी कैदीबन्दी र थुनुवाहरु भागेका छन् । त्यसमध्ये केही सयमात्रै फर्किएका छन्भने केही पक्राउ परेका छन् । रासस