काठमाडौं, १८ भदौ । शिक्षकहरुले बिद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गरेका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरुले हिजो वसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा धर्नासमेत दिएका छन् । विधेयकमा आफ्ना माग समावेश नभएको भन्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले संघर्षका कार्यक्रम गर्दैआएको छ । महासंघले अस्थायी प्रकृतिका शिक्षक, बिद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायीहुँदा पाउने तलबलगायत विषयमा आफना माग राख्दैआएका छन् ।

त्यसैगरी द्वन्दपीडित र संस्थागत बिद्यालयका शिक्षक, प्रधानाध्यापकको व्यवस्था, शिक्षण काउन्सिल, विभागीय कारवाहीको विषयसमेत महासंघले उठाउँदैआएको छ । सोही अवसरमा शिक्षकको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस