काठमाडौं, २७ जेठ । भक्तपुरका चर्चित बामपन्थी नेता तथा समाजसेवी कृष्णलाल श्रेष्ठको ७३ बर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उहाँको हिजै दक्षिणबाराहीमा दाहसंस्कार गरिएको थियो । उहाँ पछिल्लो समयमा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । तत्कालीन नेकपा (चौम) देखि नै सक्रिय राजनीतिमा रहनु भएका श्रेष्ठको भक्तपुरको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान रहेको थियो । ०४६ पछि उहाँ तत्कालीन संजमोका तर्फबाट भक्तपुर–२ मा प्रतिनिधिसभाका लागि उम्म्ेदवार समेत हुनु भएको थियो । श्रेष्ठको मध्यपुरथिमि नगरपालिका–४ तछुतोस्थित निवासमा निधन भएको हो । उहाँको पार्थिव शरीरमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
त्यसैगरी केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु शशी श्रेष्ठ, लिलामणि पोखरेल, केन्द्रीय नेताहरु दिलीपकुमार श्रेष्ठ, प्रतिमा श्रेष्ठ, डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसैगरी पार्थिव शरीरमा विराट नेपाल भाषा साहित्य गुथिको झण्डासमेत ओढाइएको थियो । नेताहरुले श्रेष्ठको निधनले भक्तपुरमा माओवादी आन्दोलनको एक युगको समाप्त भएको प्रतिक्रियादिँदै उहाँको योगदानलाई पार्टीले कहिल्य बिर्सन नहुने बताउनुभएको थियो ।