तस्वीर रासस
काठमाडौं, २६ मंसिर । भक्तपुरको सिर्जनानगरमा एमालेको भोली उद्घाटन हुने महाधिवेशनको तयारी पूरा भएको छभने आज बसेको सचिवालयको बैठकले बर्तमान अध्यक्ष केपी ओलीलाई नै सर्बसम्मत फेरी पनि अध्यक्ष बनाउने सहमति गरेको थाहाभएको छ । प्राप्त समाचारअनुसार एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य उपस्थितिका कारण काठमाडौं उपत्यकामा रौनक थपिएको छ । भोलि मंसिर २७ गतेदेखि भक्तपुरको सिर्जनानगरमा शुरुभई काठमाडौंको भृकुटीमण्डलमा हुने तीनदिने महाधिवेशनमा सहभागी हुनआउने पार्टी प्रतिनिधिसहित नेता तथा कार्यकर्ताबीचको भेटघाट, छलफल, चुनावी बहस र प्रचारप्रसारले तीव्रता पाउँदा चहलपहल बढेको हो । विशेषगरी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, भक्तपुरको सिर्जनानगरस्थित महाधिवेशन उद्घाटनस्थलसहित प्रभावशाली एवं शीर्ष नेताहरुको निवासमा चलहपहल बढेको देखिएको छ । त्यसैगरी, पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य पदमा आक्यांक्षी नेताहरुको लविङ र उनीहरुका पक्षमा रानीतिक माहोल सिर्जनागर्न चाहने शुभेच्छुक तथा कार्यकर्ताको दौडधूपले पनि राजनीतिक चहलपहल बढेको देखिन्छ । मुलुकमा विकसित विषम राजनीतिक परिवेशकाबीच आगामी पाँच वर्षका नेतृत्व चयनगर्ने सन्दर्भमा हुन गइरहेको राष्ट्रिय महाधिवेशनका अवसरमा चहलपहल हुनुलाई स्वाभाविक रुपमा लिइनुपर्ने राजनीतिक विश्लेषकको भनाइ छ । राष्ट्रिय महाधिवेशनलाई एउटा उत्सवमात्र नभई पार्टी र देशको भविष्यका लागि नयाँ चुनौतीका विषयमा विमर्शगर्ने अवसरकारुपमा पनि प्रतिनिधिले लिएका छन् । प्रतिनिधिहरु आफ्नो परिचयपत्र लिन र नेतृत्व चयनमा निर्वाचन भएमा कसरी प्रस्तुत हुनेभन्ने विषयमा चासोपूर्वक लागिरहेका देखिन्छन् ।

महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको निरन्तरता र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा पुस्तान्तरणभन्ने अन्तरपार्टी बहस चलिरहेको छ । राष्ट्रिय राजनीतिमा संकटका समयमा यसलाई सामना गर्नसक्ने नेतृत्व ओली नै होभन्ने संस्थापन पक्षको धारणा र नेतृत्वमा पुस्तान्तरण, हस्तान्तरणसहित रुपान्तरण हुनुपर्ने आवज वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षबाट आइरहेको छ । एमालेको संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुईहजार १५४ प्रतिनिधि रहनेछन् । सो संख्याको पाँच प्रतिशतसम्म प्रतिनिधि मनोनीतगर्न सकिने व्यवस्था रहेको छ । पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्यले पनि महाधिवेशनमा सहभागी हुन पाउनेछन् । मनोनीत हुने प्रतिनिधि, विधानमा कुनै संशोधन गर्ने÷नगर्ने या महाधिवेशमा कुनै प्रस्तावमा छलफल गर्ने÷नगर्ने भन्नेबारेमा आज भएको पार्टीको सचिवालय बैठकले निर्णय गरेको नेता अधिकारीले जानकारी दिनुभएको छ । यसअघि, वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनपछिको अवस्थालाई समीक्षा गर्नुपर्नेगरी आफ्नो अवधारणापत्र पार्टीका महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरिसक्नुभएको छ । पार्टीका अन्य नेताहरुले गत भदौ २०–२२ मा काठमाडौंमा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक दस्तावेजमा छलफल भइसकेका सन्दर्भमा नीतिभन्दा नेतृत्वका विषयमा राष्ट्रिय महाधिवेशन केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिरहनुभएको छ । एमालेका उपमहासचिव एवं जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आफूहरु महाधिवेशनको अन्तिम तयारीमा पुगेको जानकारीदिँदै भक्तपुरको सिर्जनानगरेस्थित खुला मैदानमा मञ्च निर्माण तथा व्यवस्थापनलगायत काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

उहाँले महाधिवेशनको उद्घाटन सत्रमा विशेषगरी बागमती, मधेस र गण्डकी प्रदेशसहित देशभरबाट उल्लेखनीय संख्यामा जनसहभागिता हुनेगरी व्यापक प्रचारप्रसारसहित तयारी भइरहेको जानकारी दिनुभएको छ । नेता ज्ञवालीकाअनुसार एमालेले महाधिवेशनमा शुभकामना दिन विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेसहित १६ राष्ट्रिय दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । जेनजी आन्दोलनपछिको विशेष अवस्था भएकाले विदेशका नेता तथा पाहुनालाई यस महाधिवेशनमा निम्तो नदिइएको एमालेका बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिनुभएको छ । उहाँकाअनुसार भारत, चीन, क्युबालगायत मुलुकका पार्टीबाट शुभकामना सन्देश प्राप्तभएको छ । यस्तै नेपालस्थित कूटनीतिक मिशनलाई महाधिवेशनमा बोलाइएको छ । महाधिवेशन सफलतपूर्वक भव्यरुपमा सम्पन्नगर्न गठित स्वयंसेवक परिचालन, आवास, खाद्यान्न, यातायात, प्रचारप्रसार, सांस्कृतिक, आर्थिक, प्रतिनिधि व्यवस्थापनलगायत समितिहरु आआफ्ना जिम्मेवारी पूरा गर्न व्यस्त देखिन्छन् । एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमार्फत राष्ट्रिय एकता र निकासका निम्ति सम्पूर्ण नागरिकलाई अपिल गरिने बताउनुभएको छ ।

उहाँले महाधिवेशनको प्रतीक चिन्ह (लोगो) मा काठमाडौं उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा धरहरादेखि, रञ्जना लिपी, न्यातपोल दरबार र शान्तिको प्रतीक पनि समावेश गरेर नेवाः संस्कृति र ऐतिहासिकतालाई महत्व दिन खोजिएको बताउनुभयो । राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल र सुखी, नेपाली राष्ट्रिय गन्तव्यभन्ने नारा रहेको महाधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्नुहुने छ । महाधिवेशन उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रमसहित स्थानीय झाँकी तथा वेषभूषामा सज्जित कलाकारले प्रदर्शनगर्ने कार्यक्रम रहेको छ ।