
काठमाडौं, ७ भदौँ । नेपालले भारतसँग थप हवाईमार्ग विस्तारगर्न प्रयासगर्ने भएको छ । राष्ट्रियसभाको हिजोको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणकाक्रममा नेपालले थप दुईतर्फ हवाईमार्ग विस्तारगर्ने विषय महत्वका साथ उठाउने बताउनुभएको हो । बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफदिँदै उहाँले नेपालले प्राप्त गर्नुपर्ने थप हवाईमार्गको विषयमा भारत सरकारसँग छलफल गरिने जानकारी दिनुभएको थियो । पर्यटनमन्त्री पाण्डेले भन्नुभयो–हामीले प्राप्त गर्नुपर्ने मार्गका विषयमा छलफल हुन्छ । अहिले केवल सिमराबाट मात्रै विमानहरु आवतजावत भइरहेका छन् । चीन जानेको हकमा तुम्लिङटारको मार्ग प्रयोग हुन्छ, त्यसैले हवाई मार्ग विस्तारको विषयलाई महत्वकासाथ उठाउनेछौँ । नेपालले पटक,पटक थप हवाईमार्ग विस्तार गर्नेबारे भारतीय पक्षसँग आग्रहगर्दै आएपनि सकारात्मक परिणाम हाशिल हुननसकेको पर्यटनमन्त्री पाण्डेले बताउनुभएको थियो ।
भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारीरुपमा सञ्चालनका लागि सरकारले बिभिन्न छुट र सहुलियत दिएको उहाँले उल्लेख गर्नुभएको थियो । उहाँकाअनुसार मन्त्रिपरिषद्ले कार्ययोजना पारितगरी दुवै विमानस्थललाई चलायमान बनाउने दिशा लिएको छ । भिसा सेन्टर, अध्यागमन कार्यालय स्थापनागर्ने, श्रम कार्यालय स्थापना गर्ने, क्वारेन्टाइन र स्वास्थय परीक्षणसम्बन्धी आवश्यक कार्यालय सुनिश्चित गर्ने, म्यानपावर कमपनीलाई आकर्षितगर्ने तथा सरकारले सहुलियतमा दुई वर्षसम्म फ्युल, टिकटको करमा छुटलगायत सुविधा दिएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । श्रमका लागि विदेश जाने र नेपाल फर्किनेलाई भैरहवा वा पोखरा विमानस्थलबाट उड्ने र उत्रिने वातावरण मिलाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । पर्यटनमन्त्री पाण्डेले भैरहवा विमानस्थललाई संसारभरिका बुद्ध धर्मालम्बीहरुको आकर्षणकारुपमा स्थापित गरिनुपर्नेमा जोड दिनुभएको थियो । हिमाली तथा पहाडी जिल्लामा उडानगर्ने ट्वीनअटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या भइरहेको उहाँले बताउनुभएको थियो ।