
काठमाडौं, २४ कातिक । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान हुन नसकेको भन्दै नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वानगर्न आग्रह गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका दलका नेता तथा सांसदहरुले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वानगर्न आग्रह गर्नुभएको हो । निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार सोनलले कांग्रेसहित सात दलको ८० भन्दा बढी सांसद बहुमत सरकारको पक्षमा रहेकाले उपधारा २ बमोजिमनै सरकार गठनका लागि आग्रह गरिएको बताउनुभएको छ ।
प्रदेश प्रमुख भण्डारीले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । प्रदेश प्रमुखको जवाफ निवर्तमान मुख्यमन्त्री सोनलले यो विषयलाई प्रदेश प्रमुखले अत्यन्त गम्भीरतापूर्वक र सकारात्मकरुपमा लिनुभएको छ । दलहरुको सहमतिका आधारमा संविधानको मर्म र भावनाअनुसार नै हामी निर्णयमा पुग्छौँ भन्नुभयो । मधेस प्रदेशसभामा हाल कांग्रेसका २२, जसपाका १८, जनमतका १३, माओवादी केन्द्रका नौ, लोसपाका आठ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्तिका एक प्रदेशसभा सदस्य छन् । मधेसमा गत असोज २९ मा छदलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपा नेता सोनल विश्वासको मत नपाउने देखेपछि सदनमै राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत भइसकेको छ । प्रदेश प्रमुखले अहिलेसम्म नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छैन ।